तिलगङ्गा– गुह्येश्वरी सडक बन्द

 जेठ २, २०७६ बिहिबार ९:१७:४३ | रासस
unn.prixa.net

काठमाण्डौ – सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला सङ्ग्रहालयका रुपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगङ्गा–ताम्रगङ्गा सडक(तिलगङ्गाबाट गुह्येश्वरी निस्कने सडक) बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य रहेको खुल्ला सङ्ग्रहालय भएकाले यसको संरक्षणका लागि सडक बन्द गर्नुपरेको जनाइएको छ ।

सडक बन्द गर्न युनेस्कोको मुख्य कार्यालयले सन् २०१२ मे ११ तारिखका दिन नेपाल सरकारकालाई पत्र लेखी तिलगङ्गा–ताम्रगङ्गा सडक बन्द नगरेर पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिएको थियो ।

अधिवक्ता तुलसी सिम्खडाले यो सडक बन्द गराउन सर्वोच्च अदालतमा हाल्नुभएको रिटमा नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई पटक–पटक सडक बन्द गर्न पत्राचार गरेको थियो । 

युनेस्को र सर्वोच्च अदालतका आदेश एवं मन्त्रालयको पटक–पटकको पत्राचार  कार्यान्वयन गराउन कोषले गत पुस ३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरी सडकमा पर्खाल लगाउन ठेक्का आह्वान गरेको थियो । जसअनुसार पीआर कन्स्ट्रक्सन भक्तपुरसँग गत वैशाख १२ गते सम्झौता भएको थियो । 

सम्झौताबमोजिम निर्माण व्यवसायीले वैशाख ३० गते सोमबारदेखि काम सुरु गरेकाले सडक बन्द भएको कोषका सदस्य सचिव डा. ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया