नेकपाकाे सचिवालयकाे बैठक चल्दै, जनवर्गीय संगठनको एकता टुंग्याइँदै

 जेठ २, २०७६ बिहिबार १७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

बैठकमा जनवर्गीय संगठनको एकताकाे टुंगो लगाउने गरी छलफल भइरहेको बुझिएको छ । नेकपाको २२ वटा भातृ संगठन छन् । ती सबैको एकता टुंगो लगाउन सचिवालय बैठक बसेको हो । बैठकमा १३ वटा भातृसंगठनको नेतृत्व तत्कालीन एमालेले पाउने र बाँकी ९ वटाको भने तत्कालीन माओवादीले लिने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ । 

गएको वर्ष जेठ तीन गर्ने तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको थियो । औपचारिक रुपमा पार्टी एकता घोषणा भएको एक वर्ष पुगेको अवसरमा भोली जनवर्गीय संगठनको एकता पनि टुंगो लगाउने तयारी थालिएको हो । 

नेकपाले भोलि नै पार्टीको पोलिटब्यूरो सदस्यहरुको पनि नाम सार्वजनिक गर्ने तयारी थालेको छ । त्यसका लागि पनि आजको बैठकमा छलफल चलिरहेको छ । 
एक वर्षसमम पनि जनवर्गीय संगठन र पार्टीको पोलिटब्यूरो सदस्य चयन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको छ । 

नेकपाले केही समयअघि मात्रै जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । भोलि एकताको बाँकी सबै काम सक्ने गरी बैठकमा छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए । 

नेकपाले पार्टी औपचारिक एकता भएको एक वर्ष पुगेको अवसर र मदन आश्रीत स्मृति दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी पार्टी एकता टुंग्याएको घोषणा गर्न लागेको हो । 

बैठकमा नेता बामदेव गौतम बाहेकका अन्य आठ जना सचिवालय सदस्य सहभागी छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी हुनुहुन्छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया