६५ आरोही सगरमाथाको चुचुरामा

 जेठ ३, २०७६ शुक्रबार ९:५५:५२ | रासस
unn.prixa.net

सोलुखुम्बु – वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि सुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । 

बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् । 

बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार बिहान आधार शिविरमा रहनुभएका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गर्नुभएको थियो ।

अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ । हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ । साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन् ।

सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो । विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया