पार्टी फुटाउन नसकेपछि विरोधीले पनि भन्न थाले ‘यिनीहरु त अर्कै धातुले बनेका रहेछन्’ : अध्यक्ष प्रचण्ड

 जेठ ३, २०७६ शुक्रबार ११:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै समाजवाद स्थापना भइहाल्ने अवस्था नरहेको बताउनुभएको छ । 

मदन भण्डारी र जीवराज आश्रितको २६ औँ स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नेकपाको रणनीतिक कार्ययोजना रहे पनि तत्काल त्यसमा गइहाल्न सकिने अवस्था बनिनसकेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि तत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिसकेको छैन ।’ 

अहिले त्यो स्थिति नबनेको भए पनि हामीले संविधानमा नै समाजवादउन्मुख भनेर रणनीतिक रुपमा समाजवादको यात्रा तय गर्न सफल भएको पनि बताउनुभयो । 

पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद भए पनि दीर्घकालीन रणनीति भने समाजवाद नै भएकाले यही वैचारिक धरातलमा पार्टी एकता भएको पनि बताउनुभयो । 

पार्टी एकता गर्ने बेला आफू र केपी शर्मा ओलीले पार्टीको विचारलाई परिमार्जन र विकसित गर्ने भनेकाले महाधिवेशनबाट नयाँ विचार निर्माण गरिने र पुराना कुराहरु दोहोर्याइरहनु आवश्यक नरहेको पनि बताउनुभयो ।

मार्क्सवादको बनिबनाउ सूत्र मात्रै रट्नु भन्दा आवश्यकता र समय अनुसार विश्लेषण गर्दै आफूहरु समाजवादको नयाँ मोडेल खोजी गर्ने क्रममा रहेको पनि प्रचण्डले खुलाउनुभयो । 

मदन भण्डारीले समय र परिस्थिति अनि नेपाली समाजको विश्लेषण गर्दै अघि बढ्ने आँट गर्नुभएकाले सबैले उहाँलाई सम्झिरहेको भन्दै उहाँको जस्तै समय र परिस्थितिअनुसार विश्लेषण गर्दै अघि बढ्ने आँट हामीले पनि देखाएको प्रचण्डले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘मदन भण्डारिले जे–जे भने तेही दोहोर्याइ रहने हो कि आजको चाहना र अवस्थाको विश्लेषण गरेर अघि बढ्ने ?’उहाँले अहिलेसम्म मदन भण्डारीलगायतका अग्रजले गरेका योगदानको आधारबाटै नयाँ विचार निर्माण हुने पनि बताउनुभयो ।  

पार्टीको विचार परिवर्तन नै गर्न नसक्ने धर्मशास्त्र बाइबल, कुरानमा भएका कुराहरु जस्तो नभई काल समय परिस्थितिअनुसार अघि बढ्न आवश्यक रणनीतिहरु, विचारहरु परिमार्जन गर्दै लैजानु पर्ने आवश्यकता रहेको पनि बताउनुभयो । 

दुवै नेतृत्वले नया ढंगले अघि बढ्ने आट नगरेको भए पार्टी एकता संभव नै नहुने भन्दै बिचारको संकीर्णतामा अल्झिरहनु अनुपयुक्त हुने पनि बताउनुभयो ।  

पार्टी एकतालाई भाड्न, हुनै नदिन विभिन्न खाले षड्यन्त्रहरु भएको र भइरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसलाई परास्त गर्दै आफूहरु यहाँसम्म आइपुगेको पनि खुलाउनुभयो । 

‘पार्टी फुटाउन भित्री रुपमा भूमिगत षड्यन्त्रहरु भए, एक अर्कामा दुश्मनी बढाउने गरी कुराहरु अतिरञ्जित गरिए पनि हामी अडिग र एकतावद्ध  भएर अगाडि बढिरहेका छौँ’, प्रचण्डले  बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टी फुटाउन विभिन्न षड्यन्त्र भए, भित्री रुपमा भूमिगत षड्यन्त्र नै भयो तर केही नचलेपछि यिनीहरु त अर्कै धातुले बनेका रहेछन् भन्ने विरोधीहरुले थाहा पाए ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया