भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

 जेठ ३, २०७६ शुक्रबार १६:२८:३५ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले विश्वका १५१ वटा देशसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ देशसँगको व्यापारमा मात्र नाफा देखिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ देशसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका देशको कारोबार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ ।

छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट छ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

यस्तै उत्तरी छिमेकी देश चीनबाट एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको सामान आयात हुँदा एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा रु एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।

नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । सो देशसँग रु २६ अर्ब ७० करोड चार लाख ६२ हजार बराबरको व्यापार घाटा छ । ती देशबाट २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा  ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ ।

नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ ।

इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ । 

नेपालको कूल व्यापार हुने मुलुकमध्ये बहामासमा आठ लाख ६९ हजार, यमन एक करोड ८२ लाख ८७ हजार, अल्जेरिया छ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा रु दुई लाख ७८ हजार, न्यू क्यालेडोनिया एक करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ । 

चालू आवको नौ महlनामा रु १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजार बराबरको आयात भएको छ । यस्तै त्यही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको रहेको छ । 

विभागका अनुसार कूल ४६ देशमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क देशमध्ये पाकिस्तानसँग पनि ४५ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको व्यापार घाटा छ भने भूटानसँग एक अर्ब पाँच करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ । श्रीलङ्कासँग २१ करोड ७२ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा रहँदा  अफगानिस्तानसँग भने एक करोड ४७ लाख ८४ हजार  रुपैयाँ बराबरको नाफामा रहेको छ । 

यस्तै बङ्गलादेशसँग दुई अर्ब ४६ करोड सात लाख ५८ हजार बराबरको व्यापार घाटा रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया