कुलमान घिसिङको चेतावनीपछि त्रिशूली ३ बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो

 जेठ ३, २०७६ शुक्रबार १७:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । 

स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अवरोध हटेपछि शुक्रबारबाट निर्माण सुरु भएको छ । 

नुवाकोटको किस्पाङ गाउँपालिका—५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतवश रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गर्नु भएको थियो । 

नियतवश काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको उल्लेख गर्दै नियतवश काम रोक्नेलाई उहाँले नछोड्ने चेतावनी दिनुभयो । 

उहाँले त्यहीँबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन अनुरोध गरेका थिए । स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो । सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार बिहानैबाट काम सुरु गरेको हो । 

‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ’, उहाँले भन्नुभयो, ‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्ने ?’ 

निर्माणमा अवरोध गर्न मुख्य भूमिका खेल्ने उत्तरगया—४का शिवप्रसाद भट्टराई, जानुका थापामगरलगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ । 

त्रिशूली नदी किनारमा सब स्टेशनको कमाण्ड घेर्न पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खाल माथि सार्न माग गरेका थिए । स्थानीयले अवरोध गरेपछि आयोजनाले दुवैतर्फका वडाध्यक्षहरुसँग छलफल गरेको थियो । उनीहरुले आयोजनाले उपयुक्त स्थानमा नै सबस्टेसन निर्माण गरिरहेकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए । 

आयोजनाले रसुवातर्फ रहको खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिने पर्खाल लगाइदिएको छ । भट्टराईको नेतृत्वमा नै पर्खाल लगाइएको थियो । अहिले उनले सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्नका लागि केही स्थानीयलाई उचालेका हुन् । उनले आफ्नो स्वार्थ पूरा गर्न आयोजनाका कर्मचारीलाई फोन गरी धम्क्याउने गरेका छन् । 

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया