अघि बढ्यो ‘सूचना महामार्ग’ निर्माणको काम

 जेठ ६, २०७६ सोमबार १८:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताउनुे भएको छ ।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग(इन्फरमेसन हाइवे) निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ । देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ । तीनमा छ भने चारमा पुर्‍याउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाति बिन्दु पाँचथरबाट अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताउनुभएको छ । ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताउनुभएको छ । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन ।  विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’, प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताउनुभएको छ । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया