अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे

 फागुन १७, २०८१ शनिबार १८:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आजदेखि नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात् आजदेखि प्रि–मनसुन शुरु भएको हो । प्रि–मनसुन अवधि मनसुन शुरु नहुञ्जेल रहन्छ ।

नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । यो समयमा तापक्रम बढ्दै जान्छ र वातावरणमा आद्रता थपिँदै जान्छ । यस अवधिमा वर्षा गराउने प्रमुख प्रणालीहरु स्थानीय वाष्पीकरण, पश्चिमी वायु र बङ्गालको खाडीबाट आउने मनसुन पूर्वको चक्रवात हुन् ।

प्रि–मनसुनमा हुने वर्षा मुख्यतया दिउँसो र बेलुकीपख हुन्छ । प्रि–मुनसुनमा वर्षभरी हुने वर्षाको १० प्रतिशत अर्थात् एक सय ८० मिलिमिटरसम्म वर्षा हुन्छ । यस अवधिमा मेघ गर्जनसहितको हावाहुरी, चट्याङ पनि पनि पर्छ । यस्तै असिनाको जोखिम पनि यही अवधिमा धेरै हुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार प्रि–मनसुनमा हुने वर्षा मकै, कोदो र तरकारीका लागि महत्त्वपूर्ण हुन्छ । यस वर्षको हिउँद यामका अन्तिम दुई दिन भएको वर्षाले हिउँदे वर्षालाई केही सुधार गरेको छ ।

बुधवारसम्म हिउँदमा हुने औसत ६० मिलिमिटर वर्षाको ११ प्रतिशत वर्षा पनि नभएकोमा अस्ति र हिजो भएको वर्षाले १८ दशमलव तीन प्रतिशत पुर्‍याएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति देशको पश्चिमी क्षेत्र र हिजो देशका सबैजसो ठाउँमा पानी र सबैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज पनि धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा बर्षा तथा हिमपात भएको छ । पछिल्लो २४ घण्टामा पूर्वी तराई बाहेक सबैजसो ठाउँमा पानी परेको छ । हिमपात र वर्षा भए पनि विशेषगरी किसानहरु खुशी भएका छन् ।

यस्तै वर्षा र हिमपातले डढेलोको जोखिम तत्कालका लागि घटाउनुसँगै वायु प्रदुषण पनि घटाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातीदेखि मौसममा क्रमिक सुधार भइ भोलिसम्ममा धेरै ठाउँको मौसम सफा हुनेछ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया