कान्तिपुर हाफ म्याराथन : नवौं संस्करणले पायाे नयाँ विजेता, अनिश थापा र विश्वरुपा बुढा प्रथम

 जेठ ११, २०७६ शनिबार ८:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कान्तिपुर हाफ म्याराथनले नवौं संस्करणले नयाँ विजेता पाएको छ ।

एन्टी पोलुसन रनको नारा दिइएको यस संस्करणमा झण्डै ३ हजार ५ सयले सहभागिता जनाएको म्यारथनमा पुरुषतर्फ अनिश थापा मगर पहिलो भए । उनले हाफ म्याराथनको दूरी १ घण्टा ८ मिनेट १६ सेकेण्डमा पूरा गर्दै नयाँ च्याम्पियन बने ।

यसैगरी दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो स्थानमा आए । यसैगरी महिला तर्फ विश्वरुप बुढा पहिलो भइन् । उनले १ घण्टा २३ मिनेट २७ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन् । यसैगरी यसैगरी १ घण्टा २४ मिनेटका साथ सन्तोषी श्रेष्ठ दोस्रो भइन् ।

हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथली आएर सम्पन्न भएको हो ।

हाफ म्याराथनको आठ वर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् ।

दुवै आ–आफ्नो विधाका साविक विजेता हुन् । कान्छीमायाले पाँच पल्ट र हरिले चारपल्ट उपाधि जितिसकेका छन् । यस संस्करणमा कान्छीले तयारी नगरेको भन्दै सहभागिता जनाएकी छैनन् ।

यसअघिका दुवै संस्करणका च्याम्पियन हरिका लागि भने यसपल्ट हृयाट्रिकको अवसर रहेकोमा उनले बीचैमा रेस छाडेका थिए । हाफ म्याराथनको महिला र पुरुष दुवैका विजेताले १–१ थान हिरो स्कूटर र ५०–५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दुवै विधामा दोस्रोदेखि छैटौं सम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ह्वील चेयर दौडमा रामबहादुर तामाङ विजयी भएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको यस इभेन्टमा प्रेम बहादुर विक दोस्रो हुँदा मोहनबहादुर बस्नेत तेस्रो स्थानमा आए ।

ह्वीलचेयर दौड अन्तर्गत महिला तर्फ यमी झाक्री मगर पहिलो हुँदा रजनी राई दोस्रो र बबिता थापा तेस्रो भइन् । ह्वील चेयर दौड तर्फका विजेताले क्रमश २० हजार १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट सुरु भएर माइतीघर मण्डला हुँदै पुन थापाथली आएर ह्वील चेयर दौड सकिएको थियो । कर्पोरेट तथा मिडिया तर्फ ५ किलो मिटर दौडमा राजेश खड्का पहिलो भएका छन् ।

उनले १७ मिनेट २० दशमलव ०८ सेकेण्डमा दूरी पुरा गरेका थिए । यसैगरी १७ मिनेट ५५ दशमलव ९५ सेकेण्डका साथ अजय तामाङ दोस्रो हुँदा १८ मिनेट १२ दशमलब ४६ सेकेण्डका साथ उत्तम श्रेष्ठ तेस्रो भए ।

कर्पोरेट तथा मिडिया अन्तर्गत महिला तर्फ काजल विष्टले २१ मिनेट २३ दशमलव ५ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन् । यसैगरी जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेण्डका साथ दोस्रो भइन् ।

तेस्रो स्थानमा आएकी सुनीता गौतमले २४ मिनेट ९ दशमलव ७ सेकेण्डका साथ तेस्रो भइन् । कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ ।

उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।

५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सकिनेछ । हिृवलचेयर दौड भने थापाथलीबाट माइतीघर मण्डला परिक्रमा गरी पुनः थापाथली आएर सम्पन्न भएको थियो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया