पीएम कप : आर्मीको लगातार दोस्रो जित, प्रदेश एक ९१ रनमा अलआउट

 जेठ १२, २०७६ आइतबार १५:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – 'एक्पर्ट प्रधानमन्त्री कप' एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश एकलाई १ सय १३ रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनायो । आर्मीका लागि राजेश पुलामीले ५६, हरि चौहानले ४१,  विनोद भण्डारीले ३०, करण केसीले २६ र कुशल मल्लले १६ रन जोडे । 

बलिङतर्फ प्रदेश एकका लागि दिपेश कँडेलले तीन तथा फिरादेश अन्सारी र सिद्धान्त लोहनीले समान २ २ विकेट हात पारे । 

२ सय ५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश एक २६ दशमलव ५ ओभरमा जम्मा ९१ रनमा अलआउट भयो । प्रदेश एकका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

निकै कमजोर ब्याटिङ गरेको प्रदेश एकका लागि राजन मगरले सर्वाधिक २६ रन बनाए । २० रनमा पहिलो विकेट गुमाएको प्रदेश एकले ४७ रन बनाउँदा ७ विकेट खेर फालेको थियो । 

त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र ९१ रनमा अलआउट भयो । बलिङतर्फ आर्मीका सुसन भारीले तीन तथा करण केसीले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया