खेलकुदमा ३ अर्ब ९९ करोड बजेट विनियोजन, गत आर्थिक वर्षभन्दा कम

 जेठ १५, २०७६ बुधबार १८:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटमा खेलकुदतर्फ ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सरकारले ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

बुधबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आसन्न साग आयोजना र २ वर्षपछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पनि बजेट विनियोजन गरेको बताउनुभएको छ । 

संघ र प्रदेशमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण र खेल ग्रामलाई यस वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ । काठमाण्डौ उपत्यकामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय परिसर निर्माणको प्रक्रिया थाल्ने पनि बजेटमा उल्लेख गरिएको छ । 

सरकारले प्रदेशमा स्तरीय र सुविधा सम्पन्न रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी २ वर्षभित्र पूरा हुने भनिएको मूलपानी क्रिकेट मैदानका लागि यस वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

क्रिकेट खेललाई उच्च प्राथमिकतामा राखेको सरकारले निजी क्षेत्रले स्टेडियम बनाउन खोजे उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिइएको पनि बजेटमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया