नेपाल-भारत-चीन सीमा तिङ्करमा पुग्याे नेपाल प्रहरी !

 जेठ १७, २०७६ शुक्रबार १८:८:४ | रासस
unn.prixa.net

दार्चुला - नेपाल, भारत र चीनको त्रिदेशीय नाका व्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई आज त्यस नाकामा पुर्‍याइएको हो ।

नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । 

त्रिदेशीय नाका छाङ्गरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै गत साता समाचार प्रकाशित भएको थियो । नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पुर्‍याइएको छ । सीतापुलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।

नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो । सर्वसाधारणले छाङ्गरु तिङकर जान नेपाल र भारत दुवै तर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।
    
'स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मीमाथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन्', प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, 'सञ्चार माध्यममा समाचार प्रकाशित भइसकेपछि झन प्रहरी समयमै पुर्‍याउनुपर्ने बाध्यता थियो ।'
    
प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार सरकारले पहिलो पटक ब्यासको त्रिदेशीय क्षेत्र छाङ्गरु तिङ्करका लागि हेलिकप्टर पठाएको हो । नेपालतिरको बाटो गएकाे वर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो । 
    
भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पुरै बगाएको स्थानीयवासीको भनाइ छ । व्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पुर्‍याएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पुर्‍याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ । 
    
यस्तै हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।
    
हेलिकप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँलगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताउनुभयो । हेलिकप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उहाँले जानकारी दिनुभयो । 
    
व्सयास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण ६ महिना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलङ्गा झरेसँगै सीतापुल प्रहरी चौकी व्यासको दुम्लिङ झर्ने गर्छन् । यहाँ चार/पाँच फिट हिउँ जम्ने गर्छ ।

प्रहरीले केही दिनअघि हतियारबिनाका प्रहरी दुम्लिङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घट्ना बेला-बेलामा आउने गरेका  थिए । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया