क्रिकेटका नयाँ प्रशिक्षक उमेश पटवाल र राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता

 जेठ १८, २०७६ शनिबार १८:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकका रुपमा नेपाल आएका उमेश पटवालले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसीसीले पटवाललाई एक बर्षका लागि नेपालको प्रशिक्षकका रुपमा नेपाल पठाएको हो ।

पटवालसँग परिषद्ले शुक्रबार नै आधिकारिक सम्झौता गर्ने बताए पनि अन्तिम समयमा समन्वय नगरेको भन्दै परिषद्ले कार्यक्रम नै बहिस्कार गरेको थियो । सदस्यसचिवले कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का समन्वय समिति र प्रशिक्षक जगत टमाटासँग सल्लाह नगरी गरेको भन्दै उपस्थित हुनुभएकाे थिएन । साथै उहाँले नेपाल आएपछि प्रशिक्षक पटवालले परिषदमा आएर उपस्थिति जनाउनु पर्ने कि परिषद्ले खोज्ने भन्दै प्रश्न गर्नुभएकाे थियाे ।

तर शनिबार भने परिषद्ले पटवालसँग सम्झौता गरेर जुन १० तारिखबाट काम गराउन लगाएको छ । नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षकका रुपमा पटवाल आधिकारिक रुपमा पहिलो पटक आएका हुन् । सम्झौता अनुसार आईसीसीले पटवाललाई महिनाको सात हजार अमेरीकी डलर परिषद् मार्फत उपलब्ध गराउनेछ । पटवाल मुख्य प्रशिक्षक भएपछि हालका मुख्य प्रशिक्षक जगत टमाटाको रोल के हुने भन्ने प्रश्न भने खडा भएको छ । यसका लागि आईसीसीको निर्देशनमा व्यवस्थापन गर्न सकिने बताइएको छ ।

सम्झौता कार्यक्रममा सदस्यसचिव केशव विष्टसहित प्रशिक्षक जगत टमाटा, शैलेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रममा प्रशिक्षक टमाटाले सबैले सहयोग गर्ने र कुनै पनि आवश्यकता परेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयाे ।

यस्तै कप्तान पारस खड्काले टमाटाको सहयोगका लागि धन्यवाद दिए । यसका साथै क्यान निलम्बन भएको बेला सबैले सहयोग गर्ने अपेक्षा रहेको पारसले बताए ।

यस्तै उमेश पटवालले जगत टमाटासँग लामो अनुभव रहेको र युवा खेलाडी उत्पादनमा उनको त्यो अनुभव काम लाग्ने बताउँदै मिलेर काम गर्ने धारणा राखे । यस्तै सदस्यसचिव विष्टले आइसीसीको सहयोगमा पटवाल नेपाल आएपछि सागमा पनि पदक जित्ने आशा गरेको बताउँदै नेपालमा प्रशिक्षकको अभाव नभए पनि अन्तराष्ट्रिय स्तरका लागि विदेशी प्रशिक्षक आवश्यक रहेकाले ल्याएको र फेरि पनि आवश्यक परेमा अरु पनि प्रशिक्षक अनुबन्ध गर्न सक्ने बताउनु्भयाे । साथै उहाँले टमाटाको भूमिका पनि कुनै न कुनै तवरमा कायम हुने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया