पीएम कप : प्रदेश तीनलाई ११७ रनले हराउँदै आर्मी तेस्रोपटक फाइनलमा

 जेठ २२, २०७६ बुधबार १७:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान बनायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय नौ रन बनायो । सुरुवात राम्रो गर्न नसके पनि आर्मीका लागि मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे ।

२३ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि हरि चौहान र राजु रिजालले दोस्रो विकेटका रुपमा ७३ रनको साझेदारी गरे । जसमा हरिले ३८ रन बनाए भने राजुले ५१ रनको योगदान गरे । 

त्यस्तै रोहितकुमार पौडेलले ४३ तथा राजेश पुलामीले २९ रनको योगदान गरे। करण केसीले २१ र कप्तान विनोद भण्डारीले विस्फोटक ७५ रनको योगदान गरे । विनोदले ४२ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले १७ बलमा २६ रन जोडे । बलिङतर्फ प्रदेश नम्बरमा ३ का लागि नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले समान दुई-दुई विकेट हात पारे । 

३ सय १० रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश तीन ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९२ रनमा सीमित भयो । सुरुवात राम्रो गर्न नसकेको आर्मीले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ४८ रनमा तीन विकेट खेर फालेको प्रदेश ३ का लागि कुनै पनि खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । 

प्रदेश ३ का लागि इसान पाण्डेले अविजीत ७९ रन बनाउँदा कप्तान पारस खड्का १९, ज्ञानेन्द्र मल्ल २६ तथा आदिल खानले १५ रनको योगदान गरे । अन्तिममा इसान र नन्दन यादवले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे पनि टिमको हार टरेन । 

बलिङमा आर्मीका साहव आलमले तीन विकेट हात पारे । अब उपाधिका लागि आर्मीले एपीएफ र नेपाल पुलिसबीचको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया