हुरीपीडितलाई सघाउन आपत्कालीन कोष स्थापना

 जेठ २६, २०७६ आइतबार ६:५९:३४ | रासस
unn.prixa.net

कञ्चनपुर – हावाहुरीका कारण क्षति व्यहोरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाको विपत् व्यवस्थापन समितिको आकस्मिकरूपमा शनिबार बसेको बैठकले एक करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनाका लागि नगरपालिकाको समपूरक कोषमा रहेको रकममध्ये ७५ लाख रुपैयाँ आपत्कालीन कोषमा राख्ने निर्णय गरिएको छ ।

विपत् व्यवस्थापन समितिको कोषमा यसअघि छ लाख रुपैयाँ मात्रै रहेको थियो । हुरीपीडितको उपचार, राहत वितरण र पुनःस्थापनामा रकमले नपुग्ने भएपछि आपत्कालीन कोषमा थप रकम नगरपालिकाले जम्मा गर्ने भएको छ ।

कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिको एक महिना बराबरको सेवा सुविधाबापतको रकमसमेत जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताउनुभयो । कोषमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरले एक महिना बराबरको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

“नगरपालिकामा कार्यरत कर्मचारीको पाउने पारिश्रमिकबाट समेत २५५ रुपैयाँ अनिवार्यरूपमा कोषमा जम्मा गर्ने र त्योभन्दा बढी रकम कर्मचारीले स्वेच्छिकरूपमा जम्मा गर्न सक्ने निर्णय गरिएको छ”, वडा नं २ का अध्यक्ष जयनारायण जोशीले भन्नुभयो ।

विपतमा परेकाको उद्धार, उपचार तथा पुनःस्थापनाका कार्यमा नगरपालिकाले कार्य अगाडि बढाइसकेको र नगरवासी सबैमा हावाहुरीपीडित परिवारको सहयोगमा जुट्नसमेत जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नगरपालिकामा हावाहुरीका कारण दुई हजार बढी घरमा क्षति पुगेको छ । हावाहुरीका कारण आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । नगरपालिका कार्यालयले जनप्रतिनिधिलाई वडावडामा खटाएर हावाहुरीबाट क्षति व्यहोरेका परिवारको विवरण सङ्कलनको कार्यसमेत सुरु गरेको छ ।

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया