सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित वर्षा

 जेठ २९, २०७६ बुधबार ९:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित वर्षा भएको छ । काठमाण्डौसहित मध्य र पूर्वको मौसम भने आंशिक बदली भएको छ । 

पश्चिमबाट प्रवेश गरेको मौसमी प्रणालीको असरले बुधबार बिहान दार्चुला, डडेलधुरा, कञ्चनपुर, धनगढी, दिपायल लगायत सुदुरपश्चिमका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी परेकोे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिममा पानी पारेको प्रणाली मध्य क्षेत्र हुँदै पूर्व सर्नेछ । 

तर मध्य क्षेत्रमा आइपुग्दा नै कमजोर हुने भएकाले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका एक दुई ठाउँमा मात्र बेलुकीतिर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । पश्चिमको मौसम पनि बिस्तारै खुल्ने मौसमविद् पौडेलले बनाउनुभयो । 

अझै पनि नेपालमा मनसुन प्रवेश नगरेकाले कुनै ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ । सामान्यतया जुन १० मा नेपालमा मनसुन भित्रनुपर्ने भए पनि यसवर्ष अझै केही दिन ढिलो हुने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया