गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गरिने

 जेठ ३०, २०७६ बिहिबार १९:३८:५० | रासस
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही - भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । 

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एसियाली विकास बैंक ९एडिबी० को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताउनुभयो । 

एसियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडीबीले एक अर्ब रुपैयाँ अनुदान रकम दिने गरी छलफल चलाएको हो । प्रधानले भन्नुभयो, ‘१० मेगावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोही अनुसार विद्युत्, एडीबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।’

छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । 

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडीबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भए पनि अहिले एडीबीले ६२ दशमलव ६ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणले ३७ दशमलव ४ प्रतिशत लागत बेहोरिरहेका छन् ।

 नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया