शुक्रबार काठमाण्डौको तापक्रम यो वर्षकै उच्च

 जेठ ३२, २०७६ शनिबार ७:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा शनिबार बिहानै चर्को घाम लागेको छ ।

शुक्रबारको अधिकतम तापक्रम यो वर्षकै उच्च ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । काठमाण्डौमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले चर्को घाम लागे पनि दिउँसोपछि आशिंक बदली भएर बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना छ । एक दुई ठाउँमा मेघगर्जन र हुरीबतास पनि चल्ने उहाँको अनुमान छ । 

यस्तै भैरहवाको अधिकतम तापक्रम पनि शुक्रबार यो वर्षकै उच्च ४२ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । गएको ३ गते भैरहवाको तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता घटेको तापक्रम हिजो भने ४२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

यस्तै अरु ठाउँमा पनि तापक्रम बढेर जनजीवन कष्टकर भएको छ । हिजो धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस, दिपायलको ४२ दशमलव १ डिग्री सेल्सियस र नेपालगन्जको ४१ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पूर्वको मौसम भने पूर्ण रुपमा बदली भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । अरु ठाउँको मौसम सफा छ । उहाँका अनुसार सुनसरीदेखि पूर्वमा पूर्ण बदली भई केहि ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । यो क्रम अबको दुई तीन घण्टासम्म चलेर त्यसपछि मौसम खुल्नेछ । तर फेरि दिउँसोपछि बदली भई पानी बेलुकीतिर फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया