सोमपाल र सन्दीपले ग्लोबल टी-२० लिग खेल्ने

 असार ५, २०७६ बिहिबार २३:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन । उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लिगमा  विनिपेग हक्सले टिममा लिएको छ ।

बिहीबार भएको क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले टिममा लिएको हो । यस्तै स्पिनर सन्दीप लामिछाने ६० हजार अमेरिकी डलरको न्यूनतम रकममा टोरन्टो नेसनल्समा आबद्ध भएका छन् ।

सोमपालले खेल्ने टिममा डेविड वार्नर, ड्वायन ब्राभो, डेविड मिलर, लेन्ड्ली सिमोन्सजस्ता खेलाडी छन । टिमका प्रशिक्षकमा वकार युनिस रहेका छन् । 

नेपाली राष्ट्रिय टिमका मुख्य बलर सोमपाल यसअघि क्यारेबियन प्रिमियर लिग र बगलादेश प्रिमियर लिगको ड्राफ्टमा परे पनि छनोट भएका थिएनन् । हाल राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका सोमपाल लामो पर्खाइपछि विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन ।

आईसीसीको वरीयतामा समेत रहेका सोमपाल अलराउण्डरको भूमिकामा टिममा धेरै पटक राम्रो खेलिसकेका छन । उनी नेपाली टिमका लागि एकदिवसीय खेलमा ६ विकेट लिने खेलाडी पनि हुन ।

यता सन्दीपलाई टोरन्टो नेसनल्सले टिममा अनुबन्ध गरेको हो । लसिथ मालिङ्गा, सुनील नारायन, ड्वायन स्मिथ, दिनेश रामदिन, सिकन्दर राजा रहेको टिममा सन्दीपले खेल्नेछन । उनको प्रशिक्षकका रुपमा टम मुडी रहेका छन् ।

सन्दीप दुई साता अगाडिमात्र क्यारेबियन प्रिमियर लिगमा ७० हजार डलरमा अनुबन्धित भएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया