सन्दीप र साेमपालले ग्लोबल टी–२० क्रिकेटको सुरुआती खेल गुमाउने सम्भावना प्रबल

 असार ६, २०७६ शुक्रबार १४:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई महत्वपूर्ण सदस्य सन्दीप लामिछाने र सोमपाल कामीले आउँदाे जुलाइ अन्तिम सातादेखि क्यानडामा आयोजना हुने ग्लोबल टी–२० क्रिकेटको सुरुआती खेल गुमाउने सम्भावना छ ।

अहिले नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका यी दुई खेलाडी त्यस प्रतियोगिताका लागि बिहीबार  छनोट भएका हुन् । ग्लोबल टी–२० प्रतियोगिता जुलाइ २५ देखि अगष्ट ११ सम्म हुनेछ । तर यसको विस्तृत तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

नेपालको राष्ट्रिय टिमले यही समयमा आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्दैछ । सिंगापुरमा जुलाइ २२ देखि २८ सम्म यो प्रतियोगिता हुँदैछ । नेपालले २३ तारिखमा कतार, २४ तारिखमा मलेसिया, २७ तारिखमा कुवेत र २८ तारिखमा सिंगापुरसँग खेल्नेछ । राष्ट्रिय टिमको खेल र ग्लोबल टी–२० को मिति जुधेकाले सन्दीप र सोमपालले क्यानडामा सुरुआती खेल गुमाउने सम्भावना रहेकाे हाे ।

सन्दीप टोरन्टो नेशनल्स र सोमपाल विनीपिग हक्समा अनुबन्धित भएका छन् । सोमपाल पहिलो पटक विदेशी टी–२० लिगमा छनोट भएका हुन् । सन्दीप लगातार दोस्रो पटक यो लिग खेल्दैछन् । सन्दीपले गएकाे सिजनमा मन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया