सन्दीप र सोमपाल भन्छन्- पहिला राष्ट्रिय टिम, अनि मात्र ग्लाेबल टी-२०

 असार ६, २०७६ शुक्रबार १६:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई महत्वपूर्ण सदस्य सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी-२० क्रिकेटको सुरुवाती तीन खेल गुमाउने भएका छन् । 

ग्लोबल टी-२० प्रतियोगिता जुलाई २५ देखि अगष्ट ११ सम्म क्यानडामा हुने छ । ग्लोबल टी-२० प्रतियोगिताको विस्तृत तालिका भने अझै सार्वजनिक गरिएको छैन। 

नेपालको राष्ट्रिय टिमले यही समयमा आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्दै छ । सिंगापुरमा जुलाई २२ देखि जुलाई २८ सम्म यो प्रतियोगिता हुँदैछ । 

नेपालले २३ तारिखमा कतार, २४ तारिखमा मलेसिया, २७ तारिखमा कुवेत र २८ तारिखमा सिंगापुरसँग खेल्ने छ । राष्ट्रिय टिमको खेल र ग्लोबल टी-२० को मिति जुधेकाले सन्दीप र सोमपालले क्यानडामा सुरुवाती तीन खेल गुमाउने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको । 

पत्रकार सम्मेलनमा सोमपालले भने ‘ग्लोबल टी-२० का लागि छनोट भएकोमा खुशी लागेको छ, तर मैले सुरुका तीन खेल खेल्न पाउने छैन, किन भने ग्लोबल टी-२० भन्दा मेरो राष्ट्रिय टिम महत्वपूर्ण हो ।’

पत्रकार सम्मेलनमा सन्दीप लामिछानले पहिलो पटक सोमपाल कामी विदेशी लिगमा आबद्ध हुनु नेपाली क्रिकेटलाई थप सफलता मिलेको भन्दै खुशी व्यक्त गरे । आफूले विगतमा पनि यो लिग खेलिसकेकाले यस पटक टिम परिवर्तन भएको र यसमा खेल्न उत्साहित नै रहेको सन्दीपले बताए । 

सन्दीप टोरन्टो नेशनल्स र सोमपाल विनीपिग हक्समा अनुबन्धित भएका छन् । सोमपाल पहिलो पटक विदेशी टी-२० लिगमा छनोट भएका हुन् । सन्दीप लगातार दोस्रो पटक यो लिग खेल्दैछन् । सन्दीपले गत सिजनमा मन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया