रेशम चौधरीलाई ‘१४ किलोको नेल’, सरकारप्रति भट्टराईको आक्राेश : यो हर्कत तुरून्त बन्द गर

‘आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिट्टै बिर्सेका हुन् ?’

 असार ७, २०७६ शनिबार ९:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निलम्बनमा परको सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना गरिएको छ ।

सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना गरिएको छ । चौधरीलाई वीर अस्पतालमा खुट्टामा फलामको सिक्रीले बाँधेर उपचार गरिएको छ । 

सुरक्षाको कारण देखाउँदै प्रशासनले सिक्री बाँधेको बताएको छ । तर चौधरीलाई सिक्रीले बाँधेर उपचार गरिएको काम अमानवीय भएको भन्दै आलोचना भएको छ । कैदी जीवन बिताइरहेको भए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाए पनि यस्तो अमानवीय व्यवहार देखाउन नहुने भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । 

फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको चौधरीका भाइ मिठुलाल चौधरीले उज्यालोलाई बताउनुभयो । 

चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गर्नुभएको थियो । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको मिठुलाल चौधरीले बताउनुभयो । चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो । 

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । 

गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

हेरौँ चौधरीलाई नेल लगाइएको प्रसंगमा आएका प्रतिक्रिया

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई वीर अस्पताल पुगेरै रेशम चौधरीलाई. भेट्नु भएको छ । उहाँले यो घटना मानव अधिकार र नियमसंगत नभएको भन्दै प्रशासनको आलोचना गर्नु भएको छ । 

चौधरीलाई भेट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराई लेख्नुहुन्छ, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन् ? यो हर्कत तुरून्त बन्द गर ।’

त्यस्तै कुटनीतिज्ञ मधुरमण आचार्य ट्विटरमा लेख्नुहुन्छ, नेल लगाएर राख्नुथ्यो भने किन सांसदको सपथ खुवाएको ? कस्तो कानुन ? कस्तो सांसद ? कस्तो प्रचलन ?

खै के बुझ्ने ?’

त्यस्तै विश्लेषक विनोद सिजापति लेख्नुहुन्छ, ‘वास्तवमै हाम्रो राज्य प्रयोगशाला भएको छ ।’

पत्रकार तथा लेखक नरेन्द्रजंग पिटर लेख्नुहुन्छ, ‘यसैदेशका यिनी अत्याधिक मतले विजयी संघीय सांसद रेशम चौधरी हुन् । ‘कसुरकै’ समय सपथ खुवाइयो । अहिले उनी अस्पतालमा छन् । तस्बिर आफै बोल्छ ।’
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Yadab pokharel

    June 22, 2019, 10:14 a.m.

    ८ जना सुरछ्याकर्मी अनि दुधे बालक को हत्या गर्ने रेशम लाई नेल नलगाएर के फुलको माला लगाउनु पर्ने त ? एक पटक सम्झनुस त त्यो नर सम्हार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया