प्रदर्शनकारी घाइते भएपछि जर्जियाका सभामुखले दिए राजीनामा

 असार ७, २०७६ शनिबार १३:३७:० | एजेन्सी
unn.prixa.net

जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ ? नागरिकप्रति राज्य कत्तिको उदार हुनुपर्छ भन्ने कुराको झल्को जर्जियामा हालै भएको राजनीतिक अभ्यासले दिएको छ । 

जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ । 

रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा विवादास्पद सम्बोधन गरेपछि सभामुख दबाबमा आएका थिए । रुसी सांसदकाे सम्बाेधनकाे विराेध गर्दै भएकाे प्रदर्शनका कारण दुई सय ४० भन्दा बढी घाइते भएको र लगातार प्रदर्शन चर्कँदै जाँदा सभामुखले राजीनामा दिएका हुन् ।  

यता विपक्षी नेताहरुले भने संसद भंग गर्न र मध्यावधि चुनाव गराउने संकल्प गर्दै प्रदर्शन जारी राखेका छन् । राजधानी त्बिलिसीमा पनि विरोध र्‍याली चर्किएको छ । प्रदर्शनकारीहरुले ‘रसियाले हस्तक्षेप गर्छ’ भन्ने लेखिएका प्लेकार्ड पनि बोकेर विरोध गरिरहेका छन् । 

स्वस्थ्य मन्त्रालयका अनुसार, प्रहरीले प्रदर्शनकारीहरुमाथि रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो । जसका कारण कम्तीमा एक सय ६० प्रदशर्नकारी र ८० जना प्रहरी अधिकारीहरु घाइते भएका छन् । 

कसरी सुरु भयो रुस-जर्जिया विवाद ?

जर्जिया सन् १९९१ मा सोभियत युनियनबाट स्वतन्त्र घोषित भैसकेपछि अबकाजिया र दक्षिण ओसेसिया क्षेत्रमा अलगवादी संघर्ष सुरु भयो । सन् २००८ अगष्टमा जर्जियाले दक्षिण ओसेसियामाथि कब्जा गर्न खोज्यो । रुसले सेना परिचालन गर्यो र जर्जियालाई राजधानी त्बिलिसीबाट अघि बढ्न दिएन ।

युद्धविरामपछि रुसले जर्जियाको निर्विवाद क्षेत्रमा सैनिक तैनाथ गरे पनि दक्षिण ओसेसिया र अबकाजियालाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिइएको छ ।त्यसबेलादेखि नै रुस र जर्जियाबीच राजनीतिक सम्बन्ध सुमधुर छैन । यी दुई देशले एकले अर्कालाई शंकाको नजरले हेर्दै आइरहेका छन् । 

जर्जियाको युरोपियन संघ र नाटोमा संलग्न हुने महत्वकांक्षा छ । तर बितेका केही वर्षमा द्विपक्षीय व्यापार र पर्यटनले भने केही उचाइ लिएको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया