विश्वकप क्रिकेट : पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

 असार ८, २०७६ आइतबार १०:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पुग्न अन्य टिमको नतिजामा भर पर्नुपर्छ ।

दक्षिण अफ्रिकाले १० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणको आफ्नो सातौं खेलमा आइतबार पाकिस्तानसँग लर्डसमा प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

५ खेलबाट १ जितसहित १ अंक जोडेको पाकिस्तानको प्रदर्शन पनि यस विश्वकपमा अनिश्चित छ । पहिलो खेलमा वेष्ट इण्डिजसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डलाई हराएर सनसनी मच्चाएको पाकिस्तानले त्यसपछिका २ खेलमा क्रमसः अष्ट्रेलिया र भारतविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।

भारतविरुद्ध ८९ रनले हारेको पछिल्लो खेलमा पाकिस्तान तीनै क्षेत्र (ब्याटिङ बलिङ र फिल्डिङ)मा कमजोर देखिएको थियो । सेमिफाइनलमा पुग्ने आशा कायमै राख्नका लागि पाकिस्तानका लागि पनि यो खेल गर या मरको अवस्थामा छ ।

पाकिस्तानका मोहम्मद आमिरले विश्वकपमा अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन् । पाकिस्तानी टिममा उनको छेउछाउको प्रदर्शन गर्ने एउटा खेलाडी पनि छैनन् । ठूला टोलीविरुद्धको खेलमा राम्रो नतिजा ल्याउनका लागि सबै क्षेत्रबाट सन्तुलित प्रदर्शन जरुरी हुन्छ ।

दक्षिण अफ्रिकाको बलरहरुले विपक्षीलाई चुनौति दिए पनि ब्याट्सम्यानहरुले अहिलेसम्म आफूलाई प्रमाणित गर्न सकेका छैनन् । त्यसैले त उसले ६ खेलमा अफगानिस्तानबाहेक अन्य कुनै टोलीलाई हराउन सकेको छैन ।

लर्डसको मैदानमा सन् २०१८ को जुलाईपछि पहिलोपल्ट एकदिवशीय खेल आयोजना हुँदैछ । आइतबार लण्डनमा आंशिक बदली हुने अनुमान गरिएको छ र सुख्खा पिचमा स्पिनरहरु प्रभावशाली हुनेछन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया