कोपा अमेरिका फुटबल : इक्वेडरलाई हराउँदै क्वार्टरफाइनलमा पुग्ने दाउमा जापान

 असार ९, २०७६ सोमबार २०:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कोपा अमेरिकाअन्तर्गत समूह चरणका अन्तिम दुई खेल मंगलबार बिहान हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार बिहान पौने ५ बजे हुने छ । जसमा चिली र उरुग्वे भिड्दा त्यही समयमा एसियाली देश जापान र इक्वेडर आमने सामने हुने छन् ।

दोस्रो पटक दक्षिण अमेरिकी महादेशको प्रतियोगिता कोपा अमेरिका खेलिरहेको जापानलाई दोस्रो चरणमा पुग्ने मौका पनि कायमै छ । उरुग्वे र चिलीबीच समूह विजेता बन्ने होडबाजी रहेका बेला जापानलाई उत्कृष्ट तेस्रो बन्ने वसर छ ।

दुई खेलबाट जापानले अहिलेसम्म १ अंक जोडेको छ भने इक्वेडर अंकविहीन रहेको छ । जापानले इक्वेडरलाई पराजित गरेमा तेस्रो हुनेमध्ये उत्कृष्ट दुई भित्र पर्दै क्वार्टरफाइनल पुग्ने छ ।

समूह एमा चार अंक जोडेर तेस्रो भएको पेरुले क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ । समूह बीमा तेस्रो स्थानमा रहेको पाराग्वेको २ अंक रहेको छ । यस कारण जापान विजयी भए स्वतः क्वार्टरफाइनल पुग्ने छ । पराजित भए प्रतियोगिबाट बाहिरिने छ भने इक्वेडरसँग बराबरी खेले पनि जापानको समूह चरण पार गर्ने सम्भावना रहने छ । तर त्यसका लागि पाराग्वेलाई गोल अन्तरमा पछि पार्नु पर्ने छ ।

अहिलेसम्म समूह ए बाट घरेलु टोली ब्राजिलका साथै भेनेजुएला र पेरु, समूह बी बाट कोलम्बिया र अर्जेन्टिना, समूह सी बाट चिली र उरुग्वे क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया