देशभरका विद्यालय भूकम्प प्रतिराेधी भए-नभएकाे अध्ययन गरिने

 असार २२, २०७५ शुक्रबार १६:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले देशभरका सबै विद्यालय भवनहरु भूकम्प प्रतिरोधी भए-नभएको विस्तृत अध्ययन गर्ने योजना अघि सारेको छ । 

भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरुको पुनर्निर्माणले गति लिन नसकिरहेका बेला प्राधिकरणले देशभरका सबै विद्यालय भवन भूकम्प प्रतिरोधि भए÷नभएको विस्तृत अध्ययन गर्ने योजना अघि सारेको हो ।

आगामी दिनमा हुने भूकम्पीय जोखिमबाट विद्यालय भवन जोगाउन देशभरका सबै विद्यालय भवनको विस्तृत अध्ययन गर्ने प्रस्ताव अघि सारिएको प्राधिकरणका केन्द्रिय आयोजना कार्यान्वयन शिक्षा ईकाईका आयोजना निर्देशक इम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

विश्व बैंकको सहयोगमा संचालन हुने यो योजना तत्काल ६३ जिल्लामा संचालन गर्ने प्राधिकरणको योजना छ । 

प्राधिकरणले हालसम्म ६ हजार विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरेको पनि जनाएको छ । 

आयोजना निर्देशक श्रेष्ठले जग्गा उपलब्ध नभएका कारण पनि कतिपय स्थानमा विद्यालय भवन पुनर्निर्माणको काम अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो । 

प्राधिकरणले जनशक्तिको अभावमा पनि विद्यालय पुनर्निर्माणको कामले तीव्रता पाउन नसकेको दावी पनि गर्दै आएको छ ।

प्राधिकरणले विद्यालय भवन निर्माणमा ढिलाई भए निकासा गरिएको बजेट फिर्ता लिने चेतावनी पनि दिएको छ । 

बजेट गएर पनि विद्यालय भवन पुनर्निर्माणको काममा केही ठाउँमा ढिलाई हुने गरेपछि प्राधिकरणले सो विद्यालय भवन निर्माणका लागि निकासा गरिएको बजेट फिर्ता लिने तयारी गरेको पनि आयोजना निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । 

प्राधिकरणले दरबार हाईस्कुलको पुनर्निर्माणको काम जनशक्तिको अभावमा ढिलाई हुन गएको दावी पनि गरेको छ ।

प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका ३२ हजार १ सय ६१ वटा विद्यालय भवनहरुको पुनर्निर्माणको कामलाई सम्पन्न गर्नुपर्नेछ । 

आयोजना निर्देशक श्रेष्ठले विद्यालय भवन पुनर्निर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई गति दिन सक्दो प्रयास भईरहेको दावी गर्नुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया