हमाससँगको युद्धविराम वार्ता चलिरहेका बेला गाजामा इजरायली हव...
चैत ३, २०८१ आइतबार
सूचना प्रविधि क्षेत्रमा सबैभन्दा सजिलो किसिमले आफ्नो भविष्य सुनिश्चित गर्न सकिन्छ । उच्च शिक्षा अध्ययनका लागि व्यवस्थापन, सूचना प्रविधि, मानविकी, होटल व्यवस्थापन, स्वास्थ्य लगायतका विभिन्न क्षेत्र छन् । तर धेरै विद्यार्थी कक्षा १२ पास गरिसकेपछि कुन विषय रोज्ने भन्ने अन्योलमा हुन्छन् । त्यति मात्र होइन पढ्दै काम गर्न पनि नेपालमा त्यति सजिलो छैन । काम र कलेजको समय तालिका नमिल्दा विद्यार्थी यत्तिकै बस्नुपर्ने बाध्यता छ । तर पछिल्लो समय सूचना प्रविधि अर्थात् आईटी पढेका विद्यार्थीले पढाइअनुसारको काम पाइरहेका छन् । आईटी पढ्ने विद्यार्थीको सङ्ख्यासमेत बढ्न थालेको छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रको दायरा बढ्दै गएको छ । सूचना प्रविधिसम्बन्धी पढेर इन्जिनियर भएका विद्यार्थीले कार्यालमा बसेर कोडिङ लगायतका काम गर्न सक्छन् । यही क्षेत्रलाई भविष्य बनाउन सूचना प्रविधि सम्बन्धी विषयमा इन्जिनियरिङ पढेका विद्यार्थीले कुनै कम्पनीमा गएर काम गर्दा पहिलो तीन महिनाको सिकाइ अवधिमै २५ हजार रुपैयाँ पाउँछन् । तालिम लिएपछि उनीहरुको महिनाको तलब ७५ हजार रुपैयाँभन्दा बढी हुँदै जान्छ । सूचना प्रविधिसम्बन्धी विषय पढेकाले नभइ अरू विषय पढेका विद्यार्थीले पनि सूचना प्रविधि क्षेत्रमा काम गर्न सक्छन् । यसमा बीपीएको काम, डेटा इन्ट्री अर्थात् तथ्याङ्क प्रविष्ट, स्क्यानिङ लगायतका काम हुन्छन् । साधारण कम्प्युटर तालिम लिएर विद्यार्थीले शुरुआतमा महिनाको ४० देखि ५० हजार रुपैयाँ कमाउन सक्छन् ।
सूचना प्रविधिमा काम गर्न चाहने मानिसले सबैभन्दा पहिले विश्वसनीय संस्थामा गएर तालिम लिनुपर्छ । त्यहाँ गएर के–के कुरा पढ्यो भने सूचना प्रविधिमा काम गर्न सकिन्छ भनेर बुझ्नु पर्छ । पाठ्यक्रममा भएकामध्ये आफूलाई रुचि लागेको विषय छनोट गर्नुपर्छ । यदि कसैलाई सूचना प्रविधि क्षेत्रमा काम गर्ने इच्छा छ तर कहाँ जाने, कसलाई सोध्ने जस्तो भयो भने कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको शाखामा गएर बुझ्न सकिन्छ । महासङ्घको ७७ वटै जिल्लामा शाखा पनि छन् । धेरैजसो शाखाले विभिन्न समयमा तालिम पनि गरिरहेका हुन्छन् । त्यहाँ गएर तालिम लिएर सूचना प्रविधिसम्बन्धी सीप सिक्न सकिन्छ । महासङ्घले सीप सिकेलाई प्रमाण पत्र पनि दिने गरेको छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रमा झन्डै एक लाख जनशक्ति रहेको अनुमान छ । सूचना प्रविधि क्षेत्रमा काम गर्न पहिले सीप सिक्न जरुरी हुन्छ । माग नभएका विषय पढ्दा वा तालिम लिंदा त्यसले प्रतिफल नदिन सक्छ । सीप सिकाउने पाठ्यक्रम पढ्यो भने त्यसले बजारमा छिटै रोजगारी पाउन सकिन्छ । नेपालमा सूचना प्रविधिको क्षेत्रमा माग अनुसारको दक्ष जनशक्तिको अभाव छ । त्यसैले सूचना प्रविधि क्षेत्रमा काम गरेर नेपालमै स्वरोजगार हुन सकिन्छ । सूचना प्रविधिसम्बन्धी सीप जान्नेको सङ्ख्या राम्रो देखिन्छ । सूचना प्रविधिप्रति आमविद्यार्थीको चासो बढेपछि विश्वविद्यालयहरुले सूचना प्रविधिलाई पाठ्यक्रममा राखेका छन् । तर विश्वविद्यालय नगई तालिम दिने संस्थामा गएर वा इन्टरनेटको माध्यमबाट स्वअध्ययन गरेर पनि सूचना प्रविधि क्षेत्रमा दक्ष बन्न सकिन्छ ।
नेपालमा थुप्रै तालिम दिने संस्थाहरु छन् । तर गुणस्तर तालिम दिने संस्था कम छन् । अहिले तालिम दिन खुलेका सबै संस्थाले गुणस्तर तालिम दिन सकेका छैनन् । उनीहरुले आफ्नो क्षमता बढाउन आवश्यक देखिन्छ । पालिकास्तरबाट अझै यसलाई प्रवर्द्धन गनुपर्ने देखिन्छ । नेपालमा पालिकाहरुले घरेलु किसिमको तालिम बढी दिएका हुन्छन् । तर बुझाइमा कमी हो या नजानेर पालिकाहरुले सूचना प्रविधिको क्षेत्रमा खासै काम गरेको पाइँदैन । संघीय सरकारले पनि धेरै विद्यालयमा प्रयोगशाला बनाएको छ । तर त्यसबाट विद्यार्थीले फाइदा लिन सकेका छैनन् । प्रयोगशालालाई त्यसरी अव्यवस्थित रूपमा राख्नुभन्दा प्रशिक्षक राखेर चलाउन सके धेरै विद्यार्थीले प्रविधिको विषयमा तालिम लिन पाउँथे । यदि प्रयोगशालामा तालिम लिन आउने विद्यार्थी कम भए भने बाहिरका मानिसलाई पनि तालिम दिन सकिन्छ ।
प्रविधिको प्रयोगले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा हुने फाइदा
सूचना प्रविधि रोजगारीलाई मात्रै नभएर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका लागि उपकरण हो । विद्यार्थीले हिसाबका लागि प्रयोग गर्ने यन्त्रदेखि प्रयोगशालामा चाहिने सामग्री सूचना प्रविधिमा निर्भर रहेर गर्न सकिन्छ ।
यस्तै स्वास्थ्यको क्षेत्रमा पनि धेरै नयाँ प्रविधि भित्रिएका छन् । आजको दिनमा पनि गाउँघरमा विशेषज्ञ डाक्टरको अभाव छ । ग्रामिण भेगका नागरिकले टेलिमेडिसिनमार्फत उपचार गर्न सक्छन् । यसको पनि नेपालमा राम्रोसँग सदुपयोग भएको छैन । सरकारले पछिल्लो समय एउटा अस्पतालमा उपचार गराएपछि अर्को अस्पतालमा उपचार गर्न जाँदा कागजात बाकेर हिँड्न नपर्ने गराउन थालेको छ । यसले बिरामी र स्वास्थ्यकर्मीलाई सहज हुन्छ । साथै मानिसमा देखिएका रोगको उपचार पद्धती र सुझाव पनि दिन सकिन्छ ।
यसैगरी कृषि क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ । विश्वमा प्रविधिको प्रयोग गरेर कृषिमा विकास भएको छ । नेपालमा भूमिको बनोटको हिसाबले उब्जनी हुने जग्गा कम छन् । पछिल्लो समय तराईका खाली जमिन बस्ती बिस्तारको चपेटामा परेको छ । जसले गर्दा कृषि गर्ने जमिन कम हुँदे गएको छ । साथै युवा विदेश जाँदा कतिपय ठाउँमा जमिन बाँझो छ । यस्तो अवस्थामा कृषि पेशामा आबद्ध मानिसको सङ्ख्या कम भए पनि सूचना प्रविधिको प्रयोग गरी धेरै उत्पादन गर्न सकिन्छ । यसको लागि सरकारले कृषिमा चाहिने सूचना प्रविधिको ल्याउँदा करमा सहुलियत दिनुपर्छ । साथै सूचना प्रविधिले किसानलाई माटो परीक्षणदेखि उत्पादन गर्नसम्म सहयोग गर्छ । सरकारले किसानका लागि ऋण दिन्छ तर वास्तविक किसानले त्यसको उपभोग गर्न पाउँदैनन् । यसमा सरकारले बहुवर्षीय योजना बनाएर काम गर्नुुपर्ने देखिन्छ ।
(कम्प्युटर एसोसिएसन नेपाल महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेसँग विकाश चापागाईंले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाण्डे कम्प्युटर एसोसिएसन नेपाल महासङ्घकी अध्यक्ष हुनुहुन्छ ।