एएफसी कप: मनाङ जितविहीन बन्दै प्रतियाेगिताबाट बाहिरियाे, चेन्नाइनसँग पराजित

 असार ११, २०७६ बुधबार १९:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एएफसी कपमा नेपालको लिग च्याम्पियन क्लब मनाङ एक खेलमा पनि जित हात पार्न नसक्दै प्रतियोगिताबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको समूहको अन्तिम खेलमा पनि मनाङ भारतको चेन्नाइन फुटबल क्लबसँग तीन दुईले पराजित भयो । 

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा भारतीय क्लब चेन्नाइनको जितमा मोहम्मद राफिले दुई र इली साबीयाले एक गोल गरे । खेलको सुरुवातदेखि नै मनाङ चेन्नाइन विरुद्ध केही दबावमा देखिएको थियो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको मनाङले सुखद नतिजाका साथ प्रतियोगिता टुंग्याउने लक्ष्य राखे पनि त्याे पूरा हुन सकेन ।

खेलको ४१ औँ मिनेटमा चेन्नइनका जेरी लाल्रिन्जुआलाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै खेलमा गोल हुन दिएनन् । उनले वन भर्सेस वानमा राम्रो बचाउ गरे । त्यसअघि चेन्नाइनले लगातार आक्रमण गरे पनि पोस्टमा भने अवसर बनाउन सकेन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै पाहुना टिमले अग्रता लियो । अनिरुध थापाको पासमा मोहम्मदले गोल गर्न सफल भए । पूरै खेलमा ६५ प्रतिशत बल पोसेसन राखेको चेन्नाइनविरुद्ध मनाङले ५ वटा पोष्ट चार्ज गरे पनि गोल गर्न सकेन ।

पहिलो हाफको तुलनामा केही सुधारिएको प्रदर्शन गरे पनि मनाङले गोल खान भने छोडेन । ६६ औं मिनेटमा चेन्नाइनका इली साबीयाले मोहम्मद राफीको पासमा गोल गर्दै टिमको अग्रता दुई शुन्यमा पुर्‍याए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै उनले गोल गरे ।

तर ७१ औं मिनेटमा मनाङले गोल गर्दै अन्तर दुई एकमा झार्यो । उसका लागि हेमन गुरुङको पासमा अफिज ओलाओलेले गोल गर्न सफल भए । त्यसपछि ७९ औं मिनेटमा ओलाओलेले नै हेमन गुरुङको पासमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

तर खेलको अन्तिममा चेन्नाइनले अर्को गोल थप्यो । उसका लागि मोहम्मद राफीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

जितसँगै चेन्नाइनले समूह 'ई' को उपविजेताका रुपमा अर्को चरणमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसले ६ खेलमा ११ अंकका साथ दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । उसले ६ खेलमा तीन जीत दुई बराबरी र एक हार बेहोरेको थियो ।

यता मनाङले भने ६ खेलमा एउटामा पनि जित निकाल्न सकेन । उसले चार खेलमा हार बेहाेर्‍याे भने दुई खेल बराबरीमा रोकियो । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया