भारतीय ब्याट्सम्यान रायुडूले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 असार १८, २०७६ बुधबार १७:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । 

आईसीसी विश्वकप क्रिकेट २०१९ मा टिममा नपरेपछि उनले गरेको एक विवादित ट्वीट पनि चर्चामा आएको थियो । त्यसपछि उनलाई वैकल्पिक खेलाडीहरुको सूचीमा राखिएको थियो । 

तर चोटका कारण शिखर धावन र विजय शंकर टिमबाट बाहिरिए पनि उनीहरुको स्थानमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले उनलाई विश्वकपका लागि इंग्ल्याण्ड पठाएन । 

आन्ध्रपद्रेशका क्रिकेटर रायुडूले अचानक सन्यास लिएको कारणबारे भने केही पनि बताएका छैनन् । यद्दपि उनले आईपीएलमा भने खेल्ने बताएका छन् । 

पछिल्लो एक वर्षदेखि रायुडू भारतीय टिमको नियमित सदस्य रहँदै चार नम्बरमा ब्याटिङ गर्दथे । तर विश्वकपमा भने उनको स्थानमा विजय शंकरलाई राखिएको थियो । 

५० इनिङ एकदिवसीय खेलेका रायुडूले ४७ दशमलव ०६ को औसतमा १६९४ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको सर्वाधिक स्कोर १२४ रन छ । उनले अन्तिम एकदिवसीय क्रिकेटमा गएकाे ८ मार्चमा २ रन बनाएका थिए । 

रायुडूले ६ वटा टी-२० पनि खेलेका छन् । उनले २०१३ मा डेब्यू गरेका थिए । विश्वकपका लागि चौथो स्थानमा आफ्नो दावेदारी बलियो बनाउनका लागि प्रथम श्रेणी क्रिकेटबाट पहिला नै सन्यास लिएका थिए ।

रायडूले भारतीय क्रिकेटबाट सन्यास लिएपछि उनलाई आइसल्याण्ड क्रिकेट बोर्डले आफ्नो देशको नागरिकता दिने र त्यहीबाट क्रिकेट खेल्न अफर गरेको छ । आइसल्याण्डको ट्वीटर ह्याण्डलमा त्यहाँको नागरिकता लिने प्रक्रियाबारे पनि उल्लेख गरेको छ ।

रायुडूले सन्यासको घोषणा गर्दै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनी र उपकप्तान रोहित शर्मालाई धन्यवाद समेत दिएका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया