एसीसी यू-१९ इस्टर्न रिजन: सेमिफाइलनमा नेपाल र मलेसिया खेल्ने

 असार २१, २०७६ शनिबार १६:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू-१९ इस्टर्न रिजनको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ । 

समूह चरणको अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो । समूह 'बी' को उपविजेता मलेसियाले समूह 'ए' को विजेता नेपालसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

किनरारा ओभल मैदानमा भएको खेलमा हङकङले मलेसियलाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको हङकङले ५० ओभरमा नौ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । उसका लागि अदित गोरावाराले ५० रनको अर्धशतकीय योगदान दिए । 

यस्तै कालान मार्क चल्लुले ४३ रन, नसरुल्ला रानाले ३० र अरुष भागवतले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जाेड्न सकेनन् । बलिङतर्फ मलेसियाका लागि मोहम्मद आमिर र सचिनु हिटिगेले समान तीन/तीन विकेट लिए भने विजय उन्नीले दुई विकेट हात पारे । 

१७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ दशमलव १ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो । मलेसियाका टप अर्डरका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

४४ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाका लागि मोहम्मद युशुफ र विजय उन्नीले ८७ रनको साझेदारी गर्दै मलेसियालाई खेलमा फर्काएका थिए । विजय उन्नी ३८ रनमा रन आउट भएका थिए । त्यसपछि १६३ रन बनाउँदा युशुफ व्यक्तिगत ६३ रनमा आउट भए ।

१२ बलमा ९ रन चाहिएका बेला मलेसियाले ५ बल बाँकी छँदै सबै विकेट गुमाउन पुग्यो । हङकङका विकास शर्मा र रौनक कपुरले समान तीन/तीन विकेट लिए ।

सेमिफाइनल खेल सोमबार हुनेछ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया