कौसीमै तरकारी : न विषादीको डर, न महंगीको चिन्ता

 असार २२, २०७६ आइतबार ११:३९:५५ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – चार आना क्षेत्रफलमा बनेको घर । नीलाे रंगको ठूलो गेट । गेटभित्र एउटा कार र दुई वटा मोटरसाइकल । गाडी राखेपछि बाँकी थोरै ठाउँ । त्यही खाली ठाउँ वरपर विभिन्न प्रकारका फूल । 

गेटसँगै जोडिएको छ, अनारको सानो बिरुवा । सँगै छन् विभिन्न थरीका फूल । त्यसमा पनि काँडा जस्तो देखिने आकर्षक अफ्रिकी फूल ‘हेमान्थुस’ । हेमान्थुसको छेउमा रहेको अंगुरको लहरा माथि उक्लने कोशिस गर्दैछ ।

भक्तपुरको सल्लाघारी चोक, त्यहाँबाट दाहिनेतर्फ पाँच मिनेट हिँडेपछि पुगिने यो घर हो प्रहरी नायव निरीक्षक बिष्णु थापाको । चितवनका थापाले बुवाआमाको दैनिकीलाई नै आफ्नो कर्म बनाउनुभयो । 

बुवाआमा चितवनमै बसेर खेती किसानी गर्नुहुन्थ्यो । बुवाआमाको यही बाटो पछ्याउँदै थापाले पनि कृषि कर्म रोज्नुभयो । २०५६ सालमा एसएलसी पास गरेपछि व्यवस्थापन संकायमा औपचारिक शिक्षालाई अघि बढाउँदै व्यवाहारिक रुपमा कृषि क्षेत्रमा लाग्नुभयो । अनि बन्नुभयो, नमुना कृषक । खेतमै रमाउनुभयो । तरकारी तथा फलफूललाई नै जीवन बनाउनुभयो । तर जीवनको मोल पाउन नसकेपछि निराश हुनुभयो र विदेश जाने सोचमा काठमाण्डौ पस्नुभयो । 

थापा सम्झनुहुन्छ, ‘काँक्रो असिनाले लग्यो, गहिरो ठाउँमा लगाएको प्याज पानीले डुबायो, आलु ३–४ रुपैयाँमा पनि बिक्न छाड्यो, काउली खेतमै जोत्नुपर्ने अवस्था आयो । त्यसैले अब कृषि क्षेत्रमै लागें भने भात खान सक्ने अवस्था पनि रहँदैन भनेर विदेश जाने सोचमा काठमाण्डाै पसें ।

विदेशमा सुरक्षा गार्डको अनुभव भएकालाई राम्रो हुन्छ भन्ने सुनेपछि एउटा संस्थामा सुरक्षागार्डको रुपमा केही समय काम गर्नुभयो । सुरक्षागार्डको अनुभव त भयो । अझै हतियार पनि चलाउन सक्ने भए, धेरै राम्रो आम्दानी हुन्छ भनेपछि हतियार चलाउन सिक्ने उदेश्यले सेनामा प्रवेश गर्ने प्रयास गर्नुभयो । २०६० साल असार ८ गते नेपाली सेनामा भर्ति पनि हुनुभयो । सबै हतियार चलाउन सिक्नुभयो । त्यहीँ रमाउन थाल्नुभयो । त्यसपछि बदलियो विदेश जाने योजना । 

त्यसपछि तीन वर्ष नेपाली सेना भएर देशको सेवा गर्नुभयो । रहर हुँदा हुँदै पनि औपचारिक शिक्षालाई बिट मार्नुपर्ने अवस्था आयो । तर पनि शिक्षाको भोकले कहिल्यै छाडेन । नेपाल प्रहरीमा रहेका साथीहरुले समय मिलाएर औपचारिक शिक्षा लिएको देखेपछि उहाँ नेपाल प्रहरीमा आकर्षित हुनुभयो । त्यही बेला प्रहरी सहायक निरीक्षकको पदमा आवेदन खुल्यो । सेनामै रहँदा यो पदमा पुग्न उहाँलाई १६ वर्ष लाग्थ्यो । त्यही भएर आवेदन दिनुभयो । नाम निस्कियो । त्यसपछि २०६३ सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभयो ।

आफ्नो औपचारिक शिक्षालाई निरन्तरता दिनुभयो । थापाले सार्वजनिक प्रशासनमा स्नतकोत्तर तह उत्तीर्ण गर्नुभयो । पत्रकारितामा पनि स्नातक तह पास गर्नुभएको छ । 

प्रहरी सहायक निरीक्षकबाट प्रहरी जीवन सुरु गर्नुभएका विष्णु थापा अहिले प्रहरी नायव निरीक्षक बन्नुभयो । दैनिकी यसैमा बित्न थाल्यो । तर रगतमा भएको कृषि पेसालाई उहाँले चटक्कै माया मार्न कहिल्यै सक्नुभएन । बालीका सुगन्धले उहाँलाई अझै पनि छाडेका छैनन् । त्यसैले घरको आँगनदेखि कौसीसम्म विभिन्न फूलदेखि तरकारीसम्म लगाउनुभएको छ । 

थापाले अहिले भक्तपुर कटुञ्जेमा रहेको आफ्नो घरमा गमलामा रोप्नुभएका फूलले जो कोहीलाई आकर्षित गर्छ नै । उहाँको घरको कौसीसम्म पुग्ने व्यक्तिलाई ’अब म पनि यस्तै गर्छु’ भन्ने प्रेरणा पनि दिन्छ । 

थापा भन्नुहुन्छ –‘बजारमा पाइने तरकारीदेखि फलफूलसम्म सबैमा विषादी मिसाइएको हुन्छ । आफैले थोरै दुःख गर्दा त्यो विष खानु पर्दैन भनेर आफ्नै घरको कौसीमा केही तरकारी रोपेको छु । फलाएको छु । त्यही तरकारी आफ्नो भान्छामा पकाएको छु ।’

अहिले टेकुमा रहेको अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु थापा बिहान कार्यालय जानुअघिको समय आफ्नो कौसीलाई दिनुहुन्छ । बिहानको नित्यकर्म सकेपछि झण्डै दुई घण्टा तरकारी र फलफूलसँग बिताउनुहुन्छ । तरकारीलाई गोडमेल र पानी हालेपछि कार्यालय जानुहुन्छ । बेलुका पनि थोरै समय कौसीको लागि छुट्याउनुहुन्छ । उहाँलाई यो काममा कहिलेकाहीँ जीवनसाथी प्रहरी नायव निरीक्षक ईश्वरी थापा र छोरीले सघाउँछन् । यसले परिवारमा थप आत्मीयता बढेको अनुभव दुवै जनाको छ । 

 

भन्नुहुन्छ –‘तनाव र मन अशान्त भएको बेला यहाँ आइपुग्दा त्यो सबै हराउँछ । सँगै यहाँ गोडमेल गर्दा थोरै भए पनि शारीरिक व्यायाम हुन्छ । यसले मलाई तरकारी किन्न नपर्नेदेखि शारीरिक र मानसिक रुपमा सबल बनाएको छ । सँगै बाहिर अरुको कुरा गरेर समय बिताउनुभन्दा उर्जामुलक काम गर्न पे्ररित पनि गरेको छ ।‘

घरको भर्‍याङमा पनि ठूला–ठूला गमलामा केही न केही बिरुवा रोपिएका छन् । तेस्रो तल्लामा भान्छाकोठाबाट बाहिर निस्कँदा दाहिनेतिर स्ट्याण्डमाथि गमलामा थरीथरीका फूल । छेउमै तीन चार वटा बाल्टिनमा पानी अनि नजिकै दुईसय लिटरको सानो कालो ड्रम । 

त्यही सानो ड्रममा जोडिएको छ वासिङमेसिङको पाइप, जहाँ लुगा धोएर खेर जाने पानी संकलन गरिएको छ । अनि त्यो पानीमा डुबाइएको छ अर्को लामो पाइप । जुन पाइप माथिल्लो तल्लामा पुगेको छ । त्यो कुनाबाट देब्रे घुमेपछि आउँने पुदिनाको बास्नाले अचार सम्झाउँछ । सँगै छ जाईको फूलको बिरुवा, जसलाई भुईं तलाबाट हुर्केर आउने अंगुरको बोटले भेट्नेछ । 

अझ आकर्षणको केन्द्र बनेको छ, घर नै कुरुप देखिने पिल्लर । यो पिल्लरलाई थापाले रंगरोगन गरेर ‘विष्णु’ भगवानको स्वरुप मानिने ‘तुलसी’ रोप्नुभएको छ । छेउमा रहेको अर्को पिल्लरलाई टेबुलको आकार दिनुभएको छ, ढलान गरेर । अनि त्यो टेबुलमा पनि गमलामा अनेक थरीका विरुवा रोप्नुभएको छ । 

उहाँ थप्नुहुन्छ –‘घरमा कुनै कार्य गर्दा, पारिवारिक जमघट हुँदा यो टेबुललाई सदुपयोग गर्न सकिन्छ । यसले यो कौसीलाई सजाएको छ ।’

कौसीका पर्खालमा थरीथरीका फूल । सयपत्री फुलेको छ यो बेलामा पनि । स्ट्रबेरी पनि फुल्दैछन् । भान्साबाट बाहिर निस्किएर टपक्क टिपेर खान सकिन्छ ।

स्ट्रबेरीसँगै रहेको घुमाउरो भर्‍याङबाट माथि उक्लिएपछि सानो गेट खोलेर भित्र पस्नुपर्छ । हरियाली कौसी । अनि त्यो सानो कौसीमा छ धेरैथरीका तरकारी । 
कतै लहरा फैलाउँदै गरेका करेला, काँक्रो, भुईं छुन खोज्दैछन् । कतै हरिया राता खुर्सानी र लटरम्म टमाटर फलिरहेका छन् ।

चार आना जग्गामा बनेको घरको दुई आना जति कौसीको छेउमा धनियाँ, रायो साग, पालँुगो साग, तोरीको साग, आलु, सिमी, भिन्डी, करेला, काँक्रो, गोलभेंडा, कुरिलो, कर्कलो, बोडी, कागती, अंगुर, सुन्तला, मुन्तला, अम्बा, टिमुर लगायतका तरकारी र फलफूल फलेका छन् । 

थापा भन्नुहुन्छ ‘म किसानको छोरो, चितवनमा नमूना किसान पनि बनें । तर बाध्यताले त्यो पेसा छाडे पनि मेरो रगतमा नै कृषि छ । अहिले थोरै समय निकालेर केही तरिका परिवर्तन गरेर ठाउँको सदुपयोग गरेको हुँ । अरुको कुरा काट्ने समय यता खर्चँदै छु । यसले मलाई थोरै भए पनि आत्मनिर्भर बनाएको छ । सँगै बजारमा पाइने विष हालिएको तरकारी खानबाट पनि बचेको छु ।’ 

तीन वर्षअघि थापाले घरको भुईंतलाबाट डोकोमा माटो बोकेर कौसीमा लगेर तरकारी रोप्दा के गरेको यस्तो भनेर प्रश्न गर्नेहरु अहिले आफ्ना कौसीमा पनि यसैगरी तरकारी रोप्न उहाँसँग सुझाव माग्छन् । थापाको घरसँगै जोडिएका र नजिकै रहेका अरु घरका कौसीमा पनि तरकारीको हरियाली छ । थापा भन्नुहुन्छ ‘कौसीमा आएको बेलामा अरुको पनि कौसीमा यस्तै देख्दा रमाइलो लाग्छ । हामीले आफ्नो परिवारलाई मात्र भए पनि पुग्ने तरकारी फलाउन सके, बजारमा विष हालेर बेच्न राखिएका महंगा तरकारी किन्न पर्दैन थियो कि ? ।’ 

भन्नुहुन्छ –‘खेतमा र कौसीमा खेती गर्नु खासै फरक पर्दैन । अझ खेतमा भन्दा पनि मेहनत गर्दा कौसीमा राम्रो उब्जनी गर्न सकिन्छ । किनभने खेतमा ओस भएको ठाउँमा उत्पादन कम हुन्छ । तर कौसीमा राम्ररी घाम लाग्छ । यसले बोटविरुवालाई राम्रो गर्छ । यत्ति हो कौसीमा पानी परेको बेलामा चाहिँ अलि धेरै ख्याल गर्नुपर्छ । 

थापाले गृहनगर चितवनमा व्यवसायिक खेती पनि गर्नुभएको छ । जहाँ ५ कठ्ठा क्षेत्रफलमा उहाँले ३ सय भन्दा धेरै मलेसियन साल, पाउलाेनियाकाे रुख र मरिच खेती गर्नुभएको छ । यसले जग्गा बाँझो पनि नहुने, सँगै आम्दानी पनि हुने उहाँ बताउनुहुन्छ । 

अन्तिम अपडेट: असोज २८, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया