नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशन गर्न दुवै अध्यक्षबीच सहमति

 असार २२, २०७६ आइतबार १९:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एक वर्षअघि नै सहमति भएर प्रकाशनमा आउन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन अब भने प्रकाशन हुने भएको छ ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएसँगै एक वर्षदेखि अड्केको प्रतिवेदन प्रकाशित हुने भएको हो । 

प्रधानमन्त्री समेत रहनुभएका ओलीसँग आइतबार बिहान एक वर्षअघि नै पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत तयार पारेको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने सहमति भएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन प्रकाशन गर्ने विषयमा आफूहरुबीच सहमति भएको र सोमबार प्रकाशनका लागि लैजाने जानकारी दिनुभयो । 

राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै खुसी पनि व्यक्त गर्नुभयो । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर पनि प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ, भोलि त्यो प्रकाशनमा जाँदैछ ।’

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको लाईन के हो ? विचार, सिद्धान्त के हो भन्ने बारेमा देखिएको अन्यौल अब भने अन्त्य हुने भन्दै अध्यक्ष प्रचण्डले खुसी व्यक्त गर्नुभयो । 

राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि भने सबैखालको अन्यौल हट्ने र पार्टीको आधिकारीक धारणा के हो भन्ने बारे प्रष्ट हुने पनि बताउनुभयो । 

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराउनु भयो । उहाँले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया