राखेपका नवनियुक्त सदस्य सचिवलाई सचिव देवकाेटाकाे सुझाव : तपाईँले काम नगरे मिडियाले पेज खाली राख्दैनन्

 असार २३, २०७६ सोमबार २०:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

उहाँलाई राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सोमबार पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो ।

सुरुमा बिहान ११ बजेका लागि कार्यक्रम तय भएको खबर गरिए पनि अर्को कार्यक्रम भएकाले खेलकुद पत्रकारकै आग्रहमा २ बजेलाई सारियो । समय साइत हेर्दा तीन बजे सपथ ग्रहण गर्ने भनियो । सपथ ग्रहणका लागि ३ः२५ मा युवा तथा खेलकुदमन्त्री सभाकक्षमा प्रवेश गर्नु भएको थियो । त्यसको ५ मिनेटपछि नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल हँसिलो मुद्रामा प्रवेश गर्नुभयो । त्यसपछि औपचारिक कार्यक्रम सुरु भयो । सपथ ग्रहणका बेला सिलवालसँग रहेका निर्वतमान

सदस्य सचिव केशवकुमार विष्ट पनि सबैको आकर्षण नै बन्नुभयो । कारण थियो यस्तो सपथ ग्रहण समारोहमा निवर्तमानहरु जाने प्रचलन विरलै पाइन्छ ।

शुभकामना मन्तव्यका लागि सुरुमै निर्वतमान सदस्यसचिव विष्टलाई पालो दिइयो । सदस्यसचिव विष्टले सुरुमा वर्तमान र निर्वतमानमा रहेको ‘नि’ शब्दको प्रयोगले सभाहल गुञ्जायमान भएको थियो । विष्टले आफूले आफ्नो कार्यकाल सुरु गरेको अवस्था सम्झँदै त्यतिबेला भन्दा यतिबेला धेरै सहज अवस्थामा सिलवाल आएको बताउनुभयो । उहाँले भूकम्पले थिलोथिलो भएको बेला ४ वर्ष अगाडिको खेलकुद र अहिले ट्रयाकमा आएको खेलकुदलाई अझै माथि पुर्‍याउने जिम्मेवारी सिलवालको काँधमा आएको बताउनुभयो ।

आफूले स्वर्ण काल भनेर बताउने गरेको प्रसंग उप्काउँदै विष्टले सिलवाललाई नेपाली खेलकुदलाई ‘हिरा’मा रुपान्तरण गर्न आग्रह गर्नुभयो । साथै राखेपका कर्मचारीको १५ वर्ष देखिको समस्या समाधान हुन नसकेको, खेलकुद विश्वविद्यालय सञ्चालन गर्ने योजनाहरु बाँकी रहेको बताउँदै ती काम तत्काल थाल्न आग्रह गर्नुभयो । साथै आफूले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिँदै अहिलेको भन्दा राम्रो अवस्थामा नेपाली खेलकुद पुर्‍याउन आग्रह गर्नुभयो ।

विगतमा अफूले काम गर्दा सबैबाट सहयोग पाएको भन्दै विष्टले आगामी दिनमा पनि नवनियुक्त सदस्यसचिव सिलवालाई सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । आफूले २५ वर्षदेखि सिलवाललाई चिनेको भन्दै नाम दाम सबै भएका व्यक्ति खेलकुदमा आउनु पक्कै पनि राम्रो  संकेत भएको बताउनुभयो ।

निर्वतमान सदस्य सचिव बोलिसकेपछि पालो आयो मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको । देवकोटा पनि मिजासिलो तरिकाले सबै कुरा खुलेर राख्नेमा पर्नुहुन्छ । उहाँले खेलकुद क्षेत्र बुझेको व्यक्ति सदस्यसचिव भएरका आएकाले पक्कै पनि नेपाली खेलकुद अझै राम्रो हुने बताउनुभयो ।

सचिव देवकोटाले केही दिन पहिला सदस्यसचिव नियुक्त गर्दा निर्वतमान सदस्य सचिव विष्टले भनेको कुरा पनि उप्काउँदै सिलवाल राम्रो मान्छे भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ आदर्शको कुरा गरेर हुँदैन । पहिलो कुरा त आफू नै हो दोस्रो अर्को हो । त्यसैले सबैले रोजिएको व्यक्ति सदस्यसचिव भएर आउँदा पक्कै पनि काम गर्न सजिलो हुन्छ ।’

उहाँले निर्वतमान सदस्यसचिवका पालमा राखेप चलायमान भएकाले त्यस्तै चलायमान नगराउने हो भने मिडियाले पनि लखेट्ने भन्दै सिलवाललाई सजग पनि बनाउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँले केही गतिविधि गर्नु भएन भने मिडियाले पेज त खाली राख्दैनन्, त्यसैले त्यो खाली ठाउँ भर्नका लागि पनि तपाईँकै विषयमा बढी खोजी हुन थाल्छ ।’

यस्तै आसन्न सागलाई म्याराथनको  संज्ञा दिँदै सचिव देवकोटाले अब १०० मिटर हिट्समा तयारीलाई दौडाउनु पर्ने बेला आएको बताउनुभयो ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेनाले नेपाली खेलकुद बुझेको व्यक्ति राखेपमा आएको भन्दै काम गर्न सजिलो हुने बताउनुभयो । पहिला पनि बीचमा कुमार शब्द रहेको प्रसंग उल्लेख गर्दै अहिले पनि कुमार नै आएको भन्दै उहाँले ठट्टा गर्नु भएको थियो । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद संघारमा रहेकाले यसलाई सफल पार्न सबै मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त सदस्यसचिव सिलवालसँग लामो समयदेखि सम्पर्क र सम्बन्ध रहेकाले नेपाली खेलकुदले उहाँबाट आशा राखेको बताउनुभयो । 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्वतमान सदस्यसचिव विष्टलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उहाँको साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । साथै नवनियुक्त सदस्यसचिव सिलवालले आसन्न सागका लागि तयारी तीव्र पार्नेमा विश्वास व्यक्त गर्दै मन्त्रालयले सागलाई राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडेर हेरेकाले यसलाईसफल बनाउने गरी मन्त्रालय र राखेपले काम गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया