नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि, हङकङ ६ विकेटले पराजित

 असार २४, २०७६ मंगलबार १३:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान पवन शर्राफ र रित गौतमले ३९ बलमा ५२ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए । रित १३ रन बनाएर आउट भए । उनले २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका खडकबहादुर बोहरा र पवनले २३ रनको साझोदारी गर्दै टिमलाई जित नजिक लगेका थिए । पवन ३९ रन बनाएर आउट भए ।

३९ रनमा आउट भएका पवनले ३६ बल फेस गर्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै खडकले ८ रन बनाएर आउट हुँदा २२ बल फेस गर्दै १ चौका प्रहार गरेका थिए । राेहित क्रिजमा आएपछि ४ रनकाे साझेदारी गर्दै खडक आउट भएका थिए । त्यसपछि भीम सार्की र राेहितले टिमकाे स्काेर ९३ रन पुर्‍याएका बेला राेहित क्याच आउट भए । राेहित १२ रनमा पेभेलियन फर्किएका हुन् ।

क्रिजमा भीम र हरिबहादुर चाैहानले २ रन लिँदै नेपाललाई च्याम्पिएन बनाए । भीम ८ रनमा नट आउट रहँदा खाता नै नखाेली हरिले साथ दिए । हङकङका मोहम्मद हसन खान, माेहम्मद हसन र राैनक कपुरले एक–एक विकेट लिए ।

दुई पटक भएको टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुइँमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।

नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले ५ विकेट लिए । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले शून्य रनमै तोडेका थिए ।

तेस्रो विकेटका लागि भने हङकङले भने २९ रनको साझेदारी गरेको थियो । अदित गोररा र कालन मार्कले यो साझेदारी गरेका थिए । तर मार्कलाई हङकङको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो शिकार गरे ।

मार्क जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाब बनाउने प्रयास गरेका थिए । त्यसपछि चौथो विकेटको साझेदारी पनि शून्यमा नै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिइ पेभेलियनको बाटो देखाए ।

पाचाैँ विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो । उक्त साझेदारीलाई पनि सागरले नै तोडे । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो । छैटौं विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीको व्यक्तिगत पहिलो सफलता भए पनि टिमका लागि भने छैटौं सफलता थियो ।

अरोरा हङकङबाट सर्वाधिक २४ रन बनाउने खेलाडी हुन् । उनी भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए । टिमका लागि सातौं सफलता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरेका हुन् । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो ।

अन्तिममा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक–एक विकेट लिए ।

श्रीलंकामा यू १९ एसिया कप अगस्ट र सेप्टेम्बरमा आयोजना हुँदैछ । जसमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया