विदेशको कमाइले आमाका गरगहना फिर्ता गरेँ

 असार २५, २०७६ बुधबार १६:४८:३६ | उज्यालो सहकर्मी

सञ्जयकुमार शर्मा/तौलिहवा, कपिलवस्तु ।

ऋणमा डुबेको थियो हाम्रो परिवार । आमाको कानका गहना बेचिसकेका थियौं । घर चलाउने पैसा थिएन । एक्लो छोरा हुँ म । बुवा किसान । अब बुवाले कमाएर यो घर व्यवहार उकास्ने पनि बिकल्प बाँकी थिएन । 

भारत गएर मैले आइएस्सी गरें । तर मेरो पढाइ अनुसारको काम पाइन । किसानको छोरो म । मेरो बुवाको कुनै राजनीतिक दलका नेतासँग चिनजान थिएन । न मैले नै चाप्लुसी गर्न जानेको थिएँ । जागिर पाइएन । त्यसैले म नै विदेश जाने भएँ । लेवर भिसामा युएई गएको हुँ । सुरुवातमा निकै दुःख भयो । तर समयसँगै बढुवा हुँदै गयो । 

काम गर्न भने गाह्रो थियो । लगातार १७ – १८ घण्टा काम गर्नुपर्ने । तीन महिना हुँदा पनि छुट्टी पाइदैन थियो । बसिक तलब त नौ सय दिर्हाम नै थियो तर ओभरटाइम पनि गरेको जोड्दा झण्डै १९ सय दिर्हाम जस्तो हुन्थ्यो तलब । 

लगातार काम गर्नु पर्दा पीडा हुन्थ्यो । तनाव पनि उस्तै हुन्थ्यो । बिरामी हुँदा पनि बिदा नदिने । त्यतीबेला चाहिँ घरको साह्रै याद आउँथ्यो । आमा दिदीलाई फोन गर्थें तर आफूले पाएको दुःख त सुनाइन । घरमा सुनाउदा झन पीडा होला बाआमालाई जस्तो लाग्थ्यो ।

 ९ वर्ष अर्काको देशमा पसिना बगाउँदा पनि मैले आफ्ना लागि केही गरिन । ऋण तिरें, आमाका गरगहना फिर्ता गरें, चार कोठे घर बनाएँ । बुवाआमाका लागि दुई चार लाख जम्मा पनि गरिदिएँ ।

काम धेरै गर्नु परेपनि कम्पनीले दिने सुविधा भने राम्रो थियो । सबैभन्दा राम्रो कुरा त वर्षमा एक महिना घर विदा दिन्थ्यो । ९ वर्ष विदेशमा बस्दा म सात पटक घर फर्किन पाएँ । कम्पनीका सेयर होल्डरले विस्तारै सेयर झिक्दै गए । कम्पनी पनि डुब्दै गयो । त्यसैले म २०७३ सालमा घर फर्किएँ ।

फर्किएको ११ महिना भयो । विदेशमा मैले डब्लुएमएसको काम गरेको हुँ । मसँग म्यानेजमेन्टको सीप छ तर यहाँ काम नलाग्ने । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । तर मिलेको छैन । बुवाआमाको सेवा गरिरहेको छु । पाठपूजा गर्छु त्यसमै दिन बिताइरहेको छु । 

अहिले त स्थानीय सरकार आएको छ हामी जस्ता युवालाई काममा लगाए त हुने हो तर हाम्रो देशमा राम्रालाई राम्रालाई स्थान दिने चलन छ । नेताले झुटा सपना बाँढ्छन्, त्यसैले मलाई त नेताको पछि लाग्नु भन्दा कोदालो बोकेर खेतमा जानुमा नै गर्व लाग्छ । 

अन्तिम अपडेट: साउन ३, २०७६

तपाईको प्रतिक्रिया