११ वर्षपछि रोजर फेडेरर र राफेल नाडलबीच प्रतिस्पर्धा

 असार २६, २०७६ बिहिबार ९:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

विम्बल्डनमा रोजर फेडेरर र राफेल नाडल ११ वर्षपछि पहिलो पटक खेल्ने तय भएको छ । क्वार्टर फाइनलमा स्वीस खेलाडी फेडेररले जापानका केई निशिकोरीलाई र नाडलले अमेरिकाका साम क्वेरीलाई हराएपछि टेनिसका यी दुई महान खेलाडी सेमिफाइनलमा खेल्ने पक्का भएको हो ।

फेडेररले केई निशिकोरीलाई ३–१ को सेटमा हराए । पहिलो सेट ४–६ ले गुमाएका फेडेररले पछिल्लो तीन सेटमा कमब्याक गरे । पछिल्लो सेटमा फेडेररले ६–१, ६–४ र ६–४ को जित निकाले । नाडलले भने अमेरिकाका साम क्वेरीलाई ७–५, ६–२ र ६–२ ले हराए ।

विम्बल्डनमा यी दुई खेलाडी यसअघि सन् २००८ मा भिडेका थिए । त्यसबेला नाडल विजयी भएका थिए । वर्षाले प्रभावित सो खेल पाँचौं सेटमा लम्बिएको थियो र नाडलले पाँचौं सेटमा ९–७ को जित निकालेका थिए । खेल सात घण्टा चलेको थियो ।

विम्बल्डनमा यी दुई खेलाडीले १० वटा उपाधि जितेका छन् ।

यसअघि नोभाक जोकोभिच पनि सेमिफाइनलमा पुगे । उनले स्पेनका रोबर्टो बाउटिस्टा अग्टलाई हराउँदै अन्तिम चारको स्थान पक्का गरे । फेडेरर, नाडल र जोकोभिच तीनै जना विम्बल्डनको सेमिफाइनलमा पुगेको १२ वर्षपछि पहिलो पटक हो ।

‘मलाई राफाको बारेमा धेरै जानकारी छ, उसलाई पनि मेरो बारेमा त्यतिकै जानकारी छ,’ निशिकोरीलाई हराउँदै विम्बल्डनमा १००औं खेल जितेका फेडेररले भने ।फेडेरर कुनै पनि ग्राण्डस्लाममा १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।

‘यो अवस्थामा कल्पना गर्दा पनि गाह्रो हुन्छ । तर, रोजरविरुद्ध विम्बल्डनमा फेरि खेल्न पाउँदा उत्साहित छु,’ नाडलले भने ।

अहिलेसम्म नाडल र फेडेरर ३९ पटक आमने सामने भएका छन् । जसमा २४ खेल नाडलले जितेका छन् भने फेडेररले १५ खेल आफ्नो पक्षमा पारेका छन् ।

विम्बल्डनमा भने फेडेरर सफल हुँदै आएका छन् । फेडेररले आठवटा विम्बल्डनको उपाधि जित्दा नाडलले जम्मा दुई वटा विम्बल्डन उपाधि आफ्नो पक्षमा पारेका छन् । फेडेररले २० पटक ग्राण्डस्लाम जित्दा नाडलल दुई उपाधि पछि छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया