आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
बाजुरा – बाजुराबाट बग्ने बुढीगंगा नदी आसपासमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढ्दै जाँदा र त्रिवेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाजुराको पैमा बुढीगंगा नगरपालिकाको गुइगाडको पहिरोले बुढीगंगा नदी थुनिन सक्छ, त्यसको डर नदी आसपासमा रहेका अछामको बुढाबगर र साँफेको बस्तीमा जोखिम बढेको छ ।’
पहिरोले बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुवैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । गएको वर्षदेखि नै यो ठाउँमा पहिरो खस्न थालेको हो । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको थिएन । वर्षातमा नदीमा पानीको बहाव बढ्ने भएपछि द्वाबारीमा रहेको नदी थुनिने खतरा बढेको छ ।
लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीचभागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो । नदी थुनिने जोखिम बढेपछि स्थानीयबासिन्दालाई समेत सचेत गराइएको उहाँको भनाइ छ ।
गएको वर्षदेखि नदीबुढीगंगा नगरपालिकातिरको छेउतिर बगिरहेको छ । नदी एक छेउबाट बग्न थालेपछि बुढीगंगा नगरपालिका–१ अम्कोटको तल्लो भागबाट पहिरो जान थालेको स्थानीय नवीन थापाले बताउनुभयो ।
लगातार पहिरो जान थालेपछि त्रिवेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ‘गाउँको छेउबाटै रातभर गड्याङगुडुङ आवाज आउँछ, निद्रै लाग्दैन’ स्थानीय भानुभक्त पाध्यायले भन्नुभयो, ‘यहाँ जतिबेला जे पनि हुन सक्छ ।’
त्रिवेणी नगरपालिका–९ पैमाको छेउबाट लगातार आएको पहिरोले गएको वर्ष तीन महिनासम्म साँफे– मार्तडी सडक पूर्णरुपमा बन्द भएको थियो । पहिरोले बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुवैैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । बाँकी रहेको जमिन कटान हुन सुरु भएको त्रिवेणी नगरपालिकाका नरी रावलले बताउनुभयो ।
लगातार पहिरो जाने हो भने बुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साँफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा, सेरा, फालासेनको तल्लो भाग, बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने सम्भावना छ । त्यस्तै, त्रिबेणी नगरपालिकाको–९ को पैमा गाउँ विस्तापित हुने खतरा बढेको छ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।