कप्तान पारस खड्काकाे सानदार ब्याटिङमा मलेसियाविरुद्ध नेपालकाे सहज जित

 असार २८, २०७६ शनिबार ११:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कप्तान पारस खड्काले विस्फोटक पारी खेलेपछि मलेसियाविरुद्धको दुई ट्वेन्टी-२० क्रिकेटको शृङ्खलामा नेपालले अग्रता लिएको छ ।

मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस एक्लैले ८६ रनको सानदार अविजित पारी खेले । मात्र ५० बलको सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

एउटा एण्डबाट उनले रन बनाइरहे पनि अर्को एण्डबाट विकेट झर्ने क्रम नरोकिँदा लामो साझेदारी भने हुन पाएन । तर, चौथो विकेटका लागि शरद भेषावकरसँग उनले ६१ रजको अविजित साझेदारी गरेका थिए । ६८ रनमा तेस्रो विकेटका रुपमा रोहित कुमार पौडेल ५ रनको स्कोरमा आउट भएपछि आएका भेषावकरले २० बलमा १ छक्कासहित अविजित १६ रन प्रहार गरे ।

टिमलाई जितका लागि ६ रन आवश्यक भएको अवस्थामा शरदले छक्का प्रहार गरी नेपाललाई १८.३ ओभरमा जित दिलाए ।

अर्का ओपनर प्रदीप ऐरी ४.३ ओभरमा ८ रनको स्कोरमै आउट भए पछि पारसले पारी सम्हालेका थिए । तेस्रो नम्बरमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल दशौं ओभरको अन्तिम बलमा अनवर रहमानको बलमा बोल्ड भए । उनले २० बलमा ७ रन मात्र जोड्न सके । 

यसअघि किनरा ओभल मैदानमा घरेलु टोली मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित ओभरमा उसले ९ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो । मलेसियाका दुई जना खेलाडीले उत्कृष्ट ब्याटिङ गरेप नि अन्यको प्रदर्शन खराब रह्यो ।

पहिलो ओभरको पाँचौं बलमा नै नेपालले पहिलो सफलता हात पारेको थियो । सोपमाल कामीले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दीप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दीपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए ।

१५औं ओभरको दोस्रो बलमा भेटरान बलर बसन्त रेग्मीले क्रिजमा जमेका बलर विरानदिप सिंहलाई प्रदिप ऐरीबाट क्याचआउट गराए । विरानदिपले ४९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका साफिक सरिफलाई पनि बसन्त रेग्मीले कट एण्ड बोल्ड गरे । सरिफले जम्मा २ रन बनाउन सके । १८औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान अनिमुद्धिन रामले रनआउट हुन पुगे ।

क्रिजमा जमेका अर्का ब्याट्सम्यान अहमद फियाजलाई करण केसीले लिलित नारायण राजवंशीबाट क्याचआउट गराएपछि मलेसियाले ठूलो योगफल तयार गर्न सकेन ।

समग्रमा विरानदिपले ५७ र फियाजले ४५ रन बाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन् । मलेसियाका पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछाने र बसन्त रेग्मी दुई–दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया