सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएकाे विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना सिफारिस गरेको छ ।
यो कुनै प्रविधि कम्पनीमाथि गरिएकाे अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो । तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ ।
गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएकाे सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाकाे गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ ।
बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो ।
फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटकाे मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो । फेसबुकमाथि ताेकिएको जरिबाना रकम उसले सन् २०१८ मा गरेकाे कमाइको ९ प्रतिशत मात्र हो ।
बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले फेसबुकका आठ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत सूचना प्राप्त गरेको थियो । क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावलाई प्रभावित गर्नका लागि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचनाकाे प्रयोग गरेको थियो । फेसबुकलाई पनि यी सबै कुराको जानकारी थियो ।