राष्ट्रिय खेलकुद परिषद्काे शर्त नमान्ने संघ, संस्था विघटन गर्ने सरकारकाे तयारी

 असार २९, २०७६ आइतबार १६:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सरकारले राष्ट्रिय खेलकुद परिषद्काे शर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरु विघटन गर्ने भएको छ । 

संघीय संसदको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले यस्तो बताउनुभएको हो ।

६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषद्को शर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघ, संस्थालाई विघटन गर्ने कानुनी व्यवस्था गर्न लागिएको प्रस्ट पार्नुभयाे ।  

उहाँले विधेयकमा उल्लेख गरिएको प्रावधान राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसार नै राखिएको दावी गर्नुभयो । विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आबद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । मन्त्री विश्वकर्माले परिषद्का शर्त नमान्ने खेलकुद संघ, संस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा राखिएको बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले भने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ, संस्थाहरुको आबद्धता राष्ट्रिय खेलकुद परिषद् बाहेकमा पनि हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले अन्तर्राष्ट्रिय खेलहरुसँग आबद्ध संघहरुलाई राष्ट्रिय खेलकुद परिषद् बाहेकका संस्थाहरुसँग पनि संस्थागत रुपमा आबद्ध हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि पनि समाज कल्याण परिषद्, गैर सरकारी संस्थाहरुसँग खेलकुद संघहरुले आबद्ध हुन पाउनुपर्ने उहाँको तर्क थियो ।

समितिका सदस्यहरुले खेलकुद पदाधिकारीहरुको चयन गर्दा खेलकुद क्षेत्रमा आबद्ध भएका व्यक्तिहरुलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया