चार दिनदेखि मेची राजमार्ग अवरुद्ध : पहिरो नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने

 साउन ४, २०७६ शनिबार १३:१३:५२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – गएको बुधबार राति वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक प्रयोग गरिने भएको छ ।

वर्षा रोकिए पनि सुख्खा पहिरो झर्ने क्रम नरोकिएपछि गुम्बाडाँडा–नागबेली सुनाखरी भित्री सडकखण्ड वैकल्पिक बाटोको रुपमा प्रयोग गरिने भएको हो । यो सडक कच्ची सडकखण्ड हो ।

वैकल्पिक सडकको रुपमा प्रयोग गर्न लागिएको सडक अहिले मर्मत भइरहेको र मर्मतसम्भार सकिन पनि झण्डै दुई दिन लाग्ने जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिमल्सिनाले वताउनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि कच्ची बाटो हुँदै वैकल्पिक बाटोको प्रयोग गर्नुपर्दा यात्रुलाई एक घण्टा ढिलो हुने बताइएको छ । वैकल्पिक सडक प्रयोगका लागि अहिले एक्स्काभेटरले सडकखण्डको मर्मत-सम्भार गरिहेको छ ।

राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउपालिका–३, को पाँग्रेभिरमा पहिरो झरेपछि अवरुद्ध भएको राजमार्गमा पहिरो नरोकिएपछि सयौँ गाडीहरु रोकिएका छन् ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनबीच बाटोमै रोकिएका हुन् ।

वैकल्पिक बाटोसमेत नभएकोले यात्रुलाई समस्या भएको छ । यो राजमार्गबाट पाँचथरको सदुरमकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराइ क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया