विश्वकप एसिया छनोट : ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा नेपालको सहज जित

 साउन ८, २०७६ बुधबार ११:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी ट्वान्टी२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको हो ।

वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो । कप्तान पारस ढाडको समस्याका कारण आराम गरेपछि नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले सम्हालेका थिए । यी दुईले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भएको हो । यो ट्वान्टी २० मा नेपाली ब्याट्सम्यानले अहिलेसम्म गरेको सर्बाधिक साझेदारीको कीर्तिमान हो ।

ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रनको कीर्तिमानी पारी खेले । यो नेपाली ब्याट्सम्यानले ट्वान्टी२० क्रिकेटमा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान हो । यसअघि यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो । प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिए ।

विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए । दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए । शरद भेषावकर ३ रनमा अविजित रहे । मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए ।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरेका थिए । पारीको पहिलो बलमै अनवर अरुद्धिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराएका सोमपालले त्यो ओभरको अन्तिम बलमा अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे ।

दुवैले खाता खोल्न सकेनन् । तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरेका थिए । सोमपाललाई लगातार ३ चौक र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए । उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे ।

त्यसअघि सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्धिन राम्लेलाई बोल्ड गरेका थिए । पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोेरमा आउट गरे । ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो ।

आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे । ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया