थोत्रा गाडी चढ्दा पिटाइ खाइने डर !

 साउन ९, २०७६ बिहिबार १३:४२:४६ | दामोदर न्याैपाने
unn.prixa.net

हिजोआज पुराना र थोत्रा गाडी चढ्नै डर छ । कुनै महिलालाई थोत्रो सिटको किलाले घोच्यो भने ‘काण्डकारी’ भइएला भन्ने डर ! ए फलानाको छोरा त काण्डकारी भएछ भन्ने खबर गाउँभरि फैलियो भने आमाबुवाको नाक काटिने डर  । 

गाह्रो छ हो, अब थोत्रा गाडी चढ्न पनि । बुबा म अफिस जान्छु भनेर घरबाट निस्किएको छोरा काँटी, किला काण्डमा परेर दनक खाँदै जेल पुग्न बेर छैन । बेलुकाको खाना छोरासँगै खान भनेर बाटो कुरेर बसेकी आमालाई कसले भनिदेओस् कि तातो भात छोडेर छोरा खोज्दै चिसो जेलको सिँढीसम्म पुग्नुपर्ने हुन सक्छ । 

अब महिला र पुरुष शौचालय, महिला र पुरुष होस्टेल मात्र होइन महिला र पुरुष सार्वजनिक यातायात पनि झट्टै नल्याइ नहुने भो । यदि कुनै महिलाले ऐया छोयो, घोच्यो भन्दा छेउकै सिटमा बसेको पुरुषको सातो नजाला भन्न सकिन्न । फेरि हामी नेपालीलाई सत्यतथ्य के हो मतलब छैन । ‘एट्याक’ भनेपछि जाइलागी हाल्छौँ र कहिलेकाहीँ अनाहकमा कसैको ढाड सोजिन्छ र अनुहारको नक्सा नै परिवर्तन हुन्छ ।

विशेषगरी नेपाली हामी पुर्खाले बनाइदिएका उखान र टुक्कालाई जीवन्त राख्न सकेसम्म गर्न भ्याउँछौँ । ‘तातो खाउँ जल्दै मरौँ’ भन्ने उखान हामी नेपालीले सर्वप्रिय र सर्वश्रेष्ठ मान्दै आइरहेका छौँ र बेलाबेलामा हामीले यसलाई प्रमाणित नगरेका पनि होइनौँ । अब मात्र त्यस्ता प्रमाण र अभ्यासको अभिलेख राख्न मात्र बाँकी छ । केही दिनअघि काभ्रेमा कथित सिरिन्ज आक्रमण घटनाले यो कुरा प्रष्ट पार्दछ ।

एक जना महिलाले घोच्यो भन्दैमा कुरै नबुझी एक जना शिक्षक कैंयौको मुक्का र रामधुलाईको शिकार भए । र अनुसन्धानपछि थाहा भयो कि ती महिलालाई सिटमा भएको किलाले घोचेको रहेछ । यी सबै घटनालाई मनन गरेर हेर्दा सरकारले २० वर्षभन्दा थोत्रा र पुराना गाडी अब चल्दैनन् भनेर गरेको घोषणालाई गिज्याउने काम भएको देख्न सकिन्छ ।

वर्तमान सरकारले हामी यो गर्छौँ, त्यो गर्छौ, विश्वमा जे जे भैरहेको ती सबै गर्छौँ भनेर भनिरहँदा लाचारीपनको ट्याग भिरिरहेको भने उसलाई थाहा छैन । थोत्रा गाडीका साहुहरुले नाइँ हामी त सिण्डिकेट लगाउँछौ भनेपछि सरकारको निर्णय हात्ती आयो हात्ती आयो फुस्सा झैँ भयो । अझै पनि पूर्णरुपमा यो कार्यान्वयन भैसकेको छैन ।

उसै त महिला सिट केवल माहिलाको मात्रै हो भन्ने मानसिकता बलियो भैसकेको अवस्थामा हिजोआज जो कोही पुरुष महिला सिट देख्दा मात्र तीन फिट पर पुग्छन् । खाली महिला सिटमा पनि बस्न मान्दैनन् किनकी अब त के बेर काण्डकारी हुन, कुटिन र रामधुलाई भेट्न ।

कहिलेकाहीँ त गाडीले पनि धोका दिन्छन् । बाहिरबाट हेर्दा हिजो मात्रै चलाउन थालेको जस्तो देखिने बसभित्रको रामकहानी अर्कै हुँदोरहेछ । सिट सबै च्यातिएका र फाटेका देख्दा त हंसले ठाउँ छोड्न बेर छैन । बरु मान्छे उभिन तयार हुन्छ, तर महिलासँगै बस्न उसले कुनै जोखिम मोल्न तयार छैन । हद भए खुट्टा त गल्ने हो नि भन्दै रित्तो गाडीमा उभिन तयार हुने अवस्था आइसक्यो ।

हामी पितृसत्तात्मक र पुरुष प्रधान समाज भनेर ढ्याङ्ग्रो ठोक्दै गर्दा पुरुषहरु पेलिएको र कुटिएको कथा कसले लेख्ने । आँखा चिम्लिएर आवेगमा आइहाल्ने र हातपातसम्म गर्न भ्याइहाल्ने कानुनलाई हातमा लिन पाइन्न भनेर संविधानको पानामा लेखिएको वाक्यांशलाई कुरीकुरी भन्न पाइँदैन ।

तातो खाउँ जल्दै मरौँ भन्ने उखानको अनुयायी भएर अनुसरण गर्ने हामी नेपालीले बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु भन्ने वाक्यांशलाई चाहिँ किन घोकेनौँ ? लोकतन्त्र आएकै छ जे बोले पनि भो, जे भने पनि भो यो अलि नसुहाउला कि ? कसैप्रति आक्षेप लगाउँदै गर्दा त्यसले कतिसम्म असर गर्छ भनेर सोच्न आवश्यक छ कि छैन ? यो प्रश्नको उत्तर नखोज्दासम्म कानुनलाई हातैमा लिने प्रवृत्तिको अन्त्य हुन सक्दैन ।

कसैको हतारको निर्णय र आरोपले कसैको गुमेको इज्जत र प्रतिष्ठाको जिम्मा कसले लिने ? उसको त जिन्दगी पनि कालो, जोरजोरले उमाथि बर्सिएको थप्पड र चप्पलका कारण उसको अनुहार झन् कालो । सरकार कि थोत्रो गाडी हटाउ कि छुट्टै गाडीको व्यवस्था गरिदेउ भनेर आवाज नउठ्ला भन्न सकिन्न । नत्र सरकारले नै सबैको इज्जत र प्रतिष्ठाको जिम्मा लिनुको विकल्प छैन ।

सिटमा बस्नुअघि सिटको अवस्था चेक गरौँ, कुन चिजले घोचेको हो विचार गरौँ र कुरा नै नबुझी हातपात गर्न तम्सिनेले यो अवस्था मलाई पनि नआउला भन्न सकिँदैन भनेर सोचौँ । तर यस्तो भन्दै गर्दा सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा र अप्ठ्यारो परिस्थितिको चुपचाप सहनुपर्छ भन्ने होइन । 

भन्न खोजेको थोत्रा गाडीमा चढेकै भरमा, अस्तित्व नै गुमाउन लागेका सिटको कारण र एउटै सिटमा महिला र पुरुष भएकै कारण काण्डकारी हुनबाट जोगाइयोस् । र सिटको किलाले घोच्दा गाडीको साहुलाई नै समातियोस् । पढ्न, कमाउन र घुम्न निस्किएकालाई जबर्जस्ती काण्डकारी नबनाइयोस् ।

अन्तिम अपडेट: असार ११, २०७७

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया