निर्मला हत्याकाण्ड : एक वर्ष पूरा, अनुसन्धान प्रगति शून्य

 साउन १०, २०७६ शुक्रबार ८:१३:२१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।

एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले अनुसन्धान गरिसकेका छन् । अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि सुराक पत्ता लाग्न सकेन ।

एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप लाग्दै आएको छ । त्यसो त घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ । सुरुमै गरेको त्रुटीले प्रहरीले अहिलेसम्म बलात्कार र हत्यारा सम्बन्धी कुनै पनि तथ्य फेला पार्न सकेको छैन ।

अनुसन्धानका लागि कुनै प्रमाण फेला नपारेपछि प्रहरीले डीएनएलाई अनुसन्धानको पहिलो कडी बनायो । भिडलाई शान्त बनाउन र आन्दोलनलाई कम गर्ने उद्देश्यले तथ्य र प्रमाणमा भन्दा पनि हल्ला र आशंकाको भरमा अनुसन्धान अगाडि बढ्यो ।

यही क्रममा कतिपय निर्दोषलाई पक्राउ गरेर अपराधीकै रुपमा प्रस्तुत गरियो । त्यति मात्रै होइन, पटक पटक मन्त्रीहरुले नै अपराधी पक्राउ परेको दाबी गरे । एक दुई दिनमै अपराधी सार्वजनिक हुन्छ भन्दै प्रतिबद्धता समेत जनाए । तर, पक्राउ परेका सबै निर्दोष सावित भए । र, अपराधी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका मन्त्रीहरु आफ्नै प्रतिबद्धतामा चुके ।

प्रहरीले अनुसन्धानका क्रममा प्रदिप रावल र विशाल चौधरीलाई काठमाण्डौसम्म पुर्‍यायो । उनीहरुमाथि प्रहरी प्रमुखले नै सोधपुछ गरे । प्रहरीकै दवाबमा अपराध स्वीकार्न लगाइए पनि अन्ततः डीएनए परीक्षणमा उनीहरु पनि निर्दाेष देखिए ।

घटनाको अनुसन्धानमा राज्यको जनशक्ति मात्रै होइन लगानी समेत खेर गइरहेको छ । घटनाको अनुसन्धानका लागि अहिले पनि सीआईबी सहितको टोलीले जिल्लामा बसेर काम गरिरहेको छ । अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको र पुराना प्रमाणहरुलाई रुजु गर्ने काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य बताउनुहुन्छ ।

कहाँ–कहाँ चुक्यो प्रहरी ?

निर्मलाको घटनामा घटनास्थलको संरक्षणमा मात्रै होइन, हतारमा अभियुक्त खडा गर्नेदेखि माथिल्लो निकायमा सूचना दिने कुरामा समेत प्रहरी चुकेको देखिन्छ ।

बम दिदीबहिनीको अनुसन्धान

प्रहरीले पहिलो अनुसन्धान निर्मला हराएको घरबाट सुरु गर्नुपर्ने थियो । तर, त्यो भएन । बरु बम दिदीबहिनीकै संरक्षणमा देखियो प्रहरी । निर्मलाको साइकल नजिकै भेटिएको अम्बाको रुख काटिँदा समेत त्यसबारे कुनै अनुसन्धान भएन ।

पीडित परिवार र जनआक्रोशले बम दिदीबहिनीबाटै अनुसन्धान गर्न दवाब दिँदासमेत घटनाको एक महिनापछि मात्रै उनीहरुलाई नियन्त्रणमा लिइयो । यद्यपी अनुसन्धानका क्रममा कुनै संलग्नता नदेखिएपछि उनीहरु रिहा भए । तर, उनीहरुमाथि लागेको आरोपको कारण प्रहरी बनेको छ । घटनाकै दिन प्रहरीले घरभित्र हेरिदिएको भए आफूहरुमाथि आक्षेप नलाग्ने उनीहरुको भनाइ छ ।

निर्मला हराएकै दिन पीडित परिवारले बमको घरमा खोजतलासका लागि आग्रह गर्दा प्रहरीले आनाकानी गर्नु, शव भेटिएपछि बम दिदीबाहिनीलाई सोधपुछ तथा अनुसन्धानको दायरामा नल्याउनु प्रहरीको गल्ती देखिन्छ ।

नक्कली अभियुक्त खडा

घटनाको गहिरो अनुसन्धान गरेर वास्तविक अपराधीलाई बाहिर ल्याउनुको साटो प्रहरीले नक्कली अपराधी खडा गर्यो । जसले गर्दा परिस्थितिले अर्कै रुप लियो । यसले प्रहरीलाई अनुसन्धानमा बाधा मात्रै पुगेन, जनविश्वास समेत गुमाउनु पर्‍यो ।

हुन त मानसिक रुपमा अस्वस्थ दिलिपसिंह विष्टलाई अभियुक्त करार गर्ने प्रहरी अधिकृतमध्ये दुई जना बर्खास्त भएका छन् । तर, उनीहरुले किन यसो गरे ? भन्ने आमप्रश्नमा न प्रहरीले जवाफ दिन सकेको छ, न त सरकारले नै । 

हल्लाको भर 

निर्मलाको घटनामा पटक पटक गल्ती गर्दै गएको प्रहरीले हल्लाको पछाडि लागेर फेरि अर्को गल्ती गर्‍यो । दिलिपसिंहलाई सार्वजनिक गरेसँगै बढेको जनआक्रोश र भिडको पछाडि लाग्दा प्रहरीले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकेन । भिडले जे भन्यो, प्रहरीले त्यही गर्दै गयो । जनआक्रोशले डीएनएलाई ठोस प्रमाण मान्दै तत्कालीन एसपीसहितकोे डीएनए जाँच गर्न भनेपछि अहिले प्रहरीले पनि त्यसैलाई अनुसन्धानको प्रमुख आधार बनाएको छ ।

अनुसन्धानको पाटो

प्रमाण मेटेको आरोप लागेका प्रहरीमाथि कारबाही गर्न सकेको भए त्यसबाट घटना सम्बन्धी केही आधार फेला पर्ने धेरैको विश्वास थियो । तर त्यो पनि हुन सकेन । प्रमाण मेटेको आरोपमा ८ जना प्रहरी विरुद्ध उजुरी दिएकी निर्मलाकी आमा दुर्गादेवीले तीन महिनापछि उजुरी फिर्ता लिएपछि घटनाले नयाँ रुप लियो । 
त्यसो त पछिल्लो समय कारबाहीमा परेका प्रहरीसँग दुर्गादेवीको हिमचिम बढेको छिमेकी बताउँछन् ।

छिमेकी र अधिकारकर्मीको सहयोगमा उजुरी दिएकी दुर्गादेवीलाई धेरैले तिनै प्रहरीको परिवारसँग गाडीमा सँगै हिँडेको देखेका छन् । प्रहरी परिवारलाई देखेर दया लागेको बताउने उनले प्रलोभनमा परेर उजुरी फिर्ता लिएको धेरैको आशंका छ ।

घटनाको सुरुदेखि नै प्रहरीमाथि आशंका गर्दै आएकी दुर्गादेवीले एकाएक अदालतमा आफ्नो बयान फेर्नुको कारण मात्रै खोज्ने हो भने पनि अपराधी पत्ता लाग्ने आम बुझाइ छ ।

बोल्दैनन् छिमेकी

निर्मला हराएका बेला दुर्गादेवीलाई सहयोग गर्ने छिमेकीसँग अहिले उनको सम्बन्ध चिसिएको छ । अदालतमा प्रहरीको पक्षमा उभिंदै उनले डीएनए रिपोर्टमा निर्दोष सावित भएका दिलिपसिंह विष्टमाथि नै शंकाको सुई घुमाएपछि अहिले छिमेकी सबै रुष्ट भएका स्थानी देवीदत्त भट्ट बताउनुहुन्छ । प्रहरीसँगको मिलेर दुर्गादेवीले फेरि दिलिपलाई फसाउन खोजेको धेरैको आरोप छ ।

परिवार सामान्य दैनिकीमा फर्कँदै

एक वर्षसम्म हत्यारा पत्ता नलागेपछि पीडित परिवार अहिले आफ्नो दैनिकीमा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेका छन् । अरु दुई छोरीको भविष्य हेर्दै दुर्गादेवीले राहत बुझ्नुभएको छ । यसअघि, भारतबाट सामान बोकेर गुजारा गर्दै आउनुभएकी उहाँ निर्मलाको घटनापछि भने घरमै बस्दै आउनुभएको छ ।

एक महिनादेखि उहाँ भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आउनुभएको छ । नगरपालिकाले दैनिक ४ सय रुपैयाँका दरले डोरहाजिरमा काम दिएपछि नियमित काममा फर्किएर घटनालाई भुल्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया