विश्वकप एसिया छनोट : कुवेतको पहिलो जित, नेपालको ध्यान मलेसिया र सिंगापुरको खेलमा

 साउन १०, २०७६ शुक्रबार १३:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी टी-२० एसिया छनोटमा कुवेतले पहिलो जित हात पारेकाे छ । कुवेतले कतारमाथि १० रनको जित निकाल्दै तालिकामा तीन अंक जोडेकाे छ ।

जितसँगै कुवेत ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेलमा जित र एक खेल रद्द भएपछि समान तीन अंक भएको सिंगापुर तालिकाको शीर्ष स्थानमा रहँदा मलेसिया २ अंकसहित तेस्रो स्थानमा छ । 

यसैगरी नेपाल पनि २ अंक जोड्दै चौथो स्थानमा रहँदा नेपाललाई पराजित गरेको कतार पाँचौं स्थानमा छ । शुक्रबार मलेसिया र सिंगापुरबीचको नतिजाले नेपालको अर्को चरणमा पुग्ने समीकरणमा पनि प्रभाव पार्नेछ । 

सिंगापुर शुक्रबारको खेलमा विजयी भए उसको अन्तिम खेल नेपालसँग आइतबार हुनेछ । यस्ताे अवस्थामा नेपालले कुवेत र सिंगापुरलाई पराजित गरेमा नेपालको ग्लोबल छनोटमा पुग्ने बाटो खुल्नेछ । तर मलेसिया विजयी हुँदा नेपाल विजयी भएर मात्रै पुग्ने छैन, रन रेट पनि राम्रो हुनु पर्नेछ । 

सिंगापुरमा शुक्रबार भएको खेलमा कुवेतले दिएको १९८ रनको लक्ष्य पछ्याएको कतार निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८७ रनमा सीमित भएको थियो । 

तमोर सजादले अविजित ४६ रन बनाउँदा नुवान सरवारले पनि अविजित रहँदै ३४ रन बनाए पनि हार टार्न भने सकेनन् । कुवेतका सिराज खान र जनादु हमुदले समान २/२ विकेट लिए । पहिला ब्याटिङ  गरेको कुवतेले आक्रामक पारी खेल्दै निर्धारित ओभरमा १९७ रन बनाएको थियो । 

टी-२० क्रिकेटमा कुवेतले बनाएको यो सर्वाधिक धेरै रन पनि हो । कुवेतका एडनान इद्रिसले सर्वाधिक ५६ रन बनाउँदा मोहम्मद काशिफले ४३ रनको योगदान गरे । कतारका इकबाल हसन र नुवान सरबारले समान २/२ विकेट लिए । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया