विश्वकप एसिया छनोट : नेपाललाई कुवेतले दियाे १४२ रनकाे विजयी लक्ष्य

 साउन ११, २०७६ शनिबार ९:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो खेलमा कुवेतविरुद्ध खेलिरहेको नेपालले जितका लागि १४२ रनको लक्ष्य पाएको छ । 

सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको सम्मानित योगफल खडा गरेको छ । 

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट पतन सुरु भएको हो । छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।

नवौं ओभरमा युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिए । उनले ८.३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।

१३.५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए । 

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फाेटक अविजित पारी खेले । उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १  चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बाेहाेराले १ विकेट लिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया