कीर्तिपुर मैदानकाे दयनीय अवस्था: घाँस काट्ने मेसिन कुर्दै ग्राउण्ड स्टाफ

 साउन १६, २०७६ बिहिबार २०:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा पहिलो रोजाइको मैदान हो, कीर्तिपुर क्रिकेट मैदान । 

वर्षौदेखि यही क्रिकेट मैदानमा उमेर समूहदेखि सिनियरस्तर र विदेशी प्रतियोगिताहरु हुने गरेका छन् । मैदानमा प्रतियोगिता धेरै हुने भएकाले यसको आउट फिल्डका साथै पिच पनि परिवर्तन गर्नुपर्ने अवस्था आइसकेको छ ।

तर विडम्बना यो मैदानको मर्मतका काम त परै जाओस् मैदानमा उम्रेका गौचरणजस्तो देखिएको घाँस काट्ने मेसिन पनि छैन । मैदानमा काम गर्न स्टाफ त छन् तर उनीहरुले प्रयोग गर्ने साधन नै नहुँदा कीर्तिपुर मैदानमा कम्मरसम्म आउने घाँस उम्रिएको छ । तर त्यसको वास्ता कसैलाई छैन ।

यही मैदानमा नेपालले आईसीसीदेखि एसीसीका विभिन्न प्रतियोगिता गरिसकेको छ । पछिल्लो पटक प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरेको यो मैदानमा अन्तिम पटक सिनियर टिमले क्याम्प राख्दा घास काटिएको थियो । तर त्यसपछि घाँस काट्ने मेसिन नै बिग्रिएको र नयाँ कहिले आउँला र काटौँला भनेर ग्राउण्ड स्टाफ कुरिरहेका छन् ।

कीर्तिपुर मैदानमा प्रयोग हुने पुराना मेसिनहरु बिग्रिएका र नयाँ मेसिन अहिलेसम्म आइसकेका छैनन् । जसका कारण मैदानको घाँस नकाट्दा कुनै खुला मैदानभन्दा कम देखिएको छैन ।

यही मैदानमा अब नेपाली यू–१९ क्रिकेट टिमले तयारी सुरु गर्दैछ, त्यसपछि शुक्रबारदेखि सिनियर टिमको पनि सागका लागि प्रशिक्षण सुरु हँदैछ । यस्तो अवस्थामा कसरी टिमले प्रशिक्षण गर्ला ? त्यो ठूलो प्रश्नको विषय हो ।

नयाँ सदस्य सचिव आएपछि कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण पनि गरिएको थियो । क्रिकेटका जानकार टोलीसहित मैदान पुग्नु भएका सदस्य सचिव रमेशकुमार सिलवालले मंगलबारसम्म मेसिनको समस्या टुङ्गिने वचन दिनुभएको थियो ।  तर बुधबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा पुगेर अवस्था हेर्दा निकै दयनीय थियो । 

मैदानमा कामका लागि खटिएका कामदार कहिले घाँस काट्ने मेसिन आउँला र काम गरौँला भनेर बसिरहेका थिए । यस्तैमा एक जना कामदारले एक दुई दिनमा नै घाँस काट्ने मेसिन पाएमा पनि आउटफिल्डको घाँस काट्न नै चारदेखि पाँच दिन लाग्ने र त्यसपछि पिचको पनि अवस्था हेर्नुपर्ने बताए । यू–१९ क्याम्प अगष्ट ६ तारिखबाट राख्ने भनिए पनि आधिकारिक जानकारी अझै आएको छैन ।

यति मात्र होइन, मैदानमा पानी राख्नका लागि प्रयोग हुने पम्प पनि बिग्रिएको छ भने मैदानसम्म पानी पुर्‍याउने कुनै उपाय नै छैन, त्यसैले पिचमा पानी राख्न पनि जारमा बोकेर लानुपर्ने अवस्था छ । 

यू–१९ टिमका लागि तयारी भएमा कुनै पनि पिच नहोला भनेर एउटामा भने खाली राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया