इंग्लिस क्लब उल्भरह्याम्टन र स्पेनिस क्लब स्पान्योल युरोपा लिग छनोटको तेस्रो चरणमा

 साउन १७, २०७६ शुक्रबार ६:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्स र स्पेनिस क्लब स्पान्योल युरोपा लिग छनोटको तेस्रो चरणमा पुगेका छन् । दोस्रो चरणको खेलमा उल्भरह्याम्टनले आयरल्याण्डको क्रसाडर्सलाई समग्रमा ६–१ ले हरायो । स्पान्योलले आइसल्याण्डको स्टारननलाई ७–१ ले हरायो ।

क्रुसाडर्सविरुद्ध पहिलो लेगमा २–० को जित निकालेको उल्भ्स दोस्रो लेगमा ४–१ ले विजयी भयो । राउन बेनफेस्टले १३औं मिनेटमा आत्मघाती गोल गरेपछि आईरिस क्लबले खेलमा अग्रता लिएको थियो । तर त्यसको दुई मिनेटपछि राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काए ।

३८औं मिनेटमा बेनेटले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए । ४५औं मिनेटमा जिमिनेजले ब्यक्तिगत दोस्रो गोल गरेपछि उल्भरह्याम्टन वान्डरर्सले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

७७औं मिनेटमा क्रुसादर्सका फोर्सिथेले आत्मघाती गोल गरेपछि उल्भ्स युरोपा लिगको तेस्रो चरणमा पुगेको हो ।

स्पान्योलले आईसल्याण्डको स्टारननमाथि दोस्रो लेगमा ३–१ को जित निकाल्यो । पाँचौं मिनेटमा अद्रिया पेद्रोसाले गोल गर्दै स्पान्योललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा बोर्जा इग्लिेसिस र ७८औं मिनेटमा फेरेराले गोल गरेपछि स्पान्योलले तीन गोलको अग्रता लियो । ८७औं मिनेटमा बाल्दुर सिगुरोसनले गरेको गोल सान्त्वनामात्र बन्न पुग्यो ।

यसअघि पहिलो लेगमा स्पान्योलले ४–० को जित निकालेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया