काङ्ग्रेसले अन्तरिम संरचना गठन गर्न प्रक्रिया अघि बढायो

 साउन १८, २०७६ शनिबार ९:७:१३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली काङ्ग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ । 

पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश गरी पारित गर्ने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ । 

त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसको केन्द्रीय समिति बैठक गत असार २२ गतेदेखि जारी छ ।

बैठकमा काङ्ग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन समितिका संयोजक एवं पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । महामन्त्री पूर्णबहादुर खड्काले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को गत वैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकले काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

यसैगरी बाजुरा गौमुल गाउँपालिका–६, बसाला, शान्तिटोलमा बिहीबार राति घरमाथि पहिरो गई ३० वर्षीया निरुता चँदारा र उहाँकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोप्रति बैठकले श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, रमेश रिजाल, डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शङ्कर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक साउन २२ गते दिउँसो २ बजे पुनः बस्नेछ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया