कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

 साउन २२, २०७६ बुधबार ८:५६:३६ | रासस
unn.prixa.net

काठमाण्डौ –  आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियम भएकाले पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । 

नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने हुन्छ । उहाँका अनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०–५० पूर्णाङ्कको पढ्नु पर्ने हुन्छ । जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ । नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अङ्ग्रेजी भने १०० पूर्णाङ्कको हुनेछ । 

सूचना अधिकारीसमेत रहनुभएका भट्टराईले कक्षा ९ र १० का विषयसँग पनि मिल्ने गरी पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी गराउनुभयो । यसअघि विसं २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो ।

उहाँका अनुसार ४० वटा विषयका परिमार्जन गरिसकेका छन भने ३७ वटा विषयको परिमार्जनको क्रममा रहेका छन् । ‘‘हामीले पहिले सबैभन्दा बढी विद्यार्थी हुने विषयको पाठ्यक्रम परिमार्जन गरिरहेका छौँ’’ उहाँले भन्नुभयो , ‘‘पछि  कम विषय पढाइ हुने विषय परिमार्जन गर्ने छाैँ ।’’

कक्षा ११ र १२ मा १५६ वटा विषय रहेका छन् । यसअघि कक्षा ११ र १२ को विषयको परिमार्जन उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा १२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलो पटक पाठ्यक्रम परिमार्जन गरेको हो । कक्षा ९ र १० को भने केन्द्रले ऐच्छिक विषयको मात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको हो । 

कक्षा ९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसङ्ख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गर्न थालिएको केन्द्रका निर्देशक भट्टराईले बताउनुभयो । अतिरिक्त गणितको भने पाठ्यक्रम परिमार्जन गरिसकेको छ । नयाँ पाठ्यक्रममा २५ अथवा ५० पूर्णाङ्क प्रयोगात्मक राखिएको छ ।

स्थानीय तहले स्थानीय परिवेशअनुसार एक वटा विषय अतिरिक्त पढाउन सक्नेछन् । स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • चन्द्र बुढा

    March 8, 2020, 9:37 a.m.

    defectionist

  •  0 Reply
  • Sudan khatri

    Aug. 8, 2019, 5:03 p.m.

    म यो कुरामा समर्थन जनाउन चाहन्छु , किनभने समय समयमा पाठ्यक्रम परिमार्जन गर्नु एकदम राम्रो कुरा हो / गणेश भट्टराईजीलाई निकै धन्यवाद दिन चाहन्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया